मगरात प्रदेश सास्कृतिक आधारमा मागिएको हो : थापा
विनोद परियार,रुपन्देही,१७ मंसिर । नेपाल मंगर संघका केन्द्रिय अध्यक्ष झक बहादुर थापा मगरले मगरात स्वायत्त प्रदेश ऐतिहासिक र सास्कृतिक आधारमा माग गरिएको बताएका छन् ।
नेपाल आदिवासि जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीद्धारा शनिबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मगरले यस्तो बताएका हुन् ।
मुलुक संघात्मक राज्यको संरचनामा गईसकेकाले मगरहरुको ऐतिहासिक र सास्कतिक आधारमा मगरात प्रदेश अनिवार्य भएको उनको जिकिर छ ।
नेपाल आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका मगरले मगरात राज्य स्थापना गर्दैमा अन्य समुदायको अधिकार कटौती र निषेध गर्ने आफुहरुको नियत नभएको स्पष्ट पारे ।
राज्यपुर्नसंरचना हुदा आदिवासि जनजातिहरुको अधिकार स्थापित हुने गरि राज्यको बाडफाड गर्नुपर्ने बताउदै उनले संविधानले आफुहरुको अधिकारलाई सुरक्षित गर्नुपर्नेमा जोड दिए ।
यसैविच सोही अवसरमा अध्यक्ष थापाले यहि मंसिर २४ देखि २७ गतेसम्म गुल्मिको तम्घासमा नेपाल मगर संघको १० औं राष्ट्रिय महाधिवेशन हुने जानकारी दिए । लुम्बिनी अंचल मगरहरुको बसोबास र संगिठत अधिकारका लागि लडेको भूमि समेत भएकाले गुल्मिमा राष्ट्रिय महाधिबेशनको आयोजना गरिएको हो ।
‘आत्मनिर्णयको अधिकार जातिय पहिचान र स्वायत्त स्वसाशन सहितको संघिय गणतन्त्र नेपाल स्थापना गरा, नेपाल मगर संघको १० औं राष्ट्रिय महाधिवेशन सफल परौं’ भन्ने नाराका साथमा हुने महाधिवेशन हुने भएको हो । महाधिवेशनमा नेपालका ७० जिल्ला,छिमेकी राष्ट्र र अन्य ११ देशबाट सहभागिता हुने उपाध्यक्ष नविन रोकाले बताए । महाधिवेशनमा ३ सय ५० प्रतिनिधि र ३ हजार बढिको सहभागिता हुने मगर संघले जनाएको छ ।