|

स्याउले बजार नपाएपछि १ रुपैयाँ दानाका दरले बिक्री

रुकुम, मङ्सिर १३- स्याउले बजार नपाएपछि किसानले १ रुपैयाँ दानाका दरले बिक्री गरिरहेका छन्। पूर्वी रुकुमका तकसेरा, हुकाम, मैकोट, स्यालाखदीलगायत गाविसका किसानले फलाएको स्याउ धेरैजसो त गाईभैंसीकै आहारा हुने गरेको छ। कतिपय गाउँलेले बिक्री नभएको स्याउको रक्सी पनि पार्छन्।
गाउँसम्म आधुनिक यातायातका साधन नपुगेकाले स्याउ बिक्री गर्न समस्या हुने गरेको तकसेराका महेन्द्र बुढाले बताए। 'मकै र कोदो लगाउने गरेको पाखोमा धेरै आम्दानी गर्ने उद्देश्यले स्याउ खेती गरियो,' बुढाले भने, 'अहिले भने बिक्री गर्ने समस्या पर्‍यो।'
स्याउको जाम वा जुस बनाउने प्रविधिसम्म गाउँलेको पहुँच छैन। एक रुपैयाँ दानामा पाइने स्याउ विद्यालयका शिक्षक र केही कर्मचारीले किन्छन् अनि त्यही खाजा खान्छन्।
जिल्ला सदरमुकाम खलंगा र आसपासका बजारमा भने डोल्पा, मुस्ताङ, मनाङ, भारत र चीनका स्याउ भित्रने गरेको छ। जिल्ला सदरमुकामसम्म हवाई तथा सडक यातायातले गर्दा बाहिर जिल्लाबाट स्याउ भिœयाउन सजिलो भएको हो। खलंगामा एक किलो स्याउकै १ सय २० रुपैयाँ पर्छ।
जिल्ला सदरमुकामबाट ३ दिनको पैदल दुरीमा रहेका यी गाविसमा अहिले पनिसामान ढुवानी गर्न घोडा-खच्चडको प्रयोग गरिन्छ। 'घोडा खच्चडमा स्याउ ओसार्दा दानामा चोटपटक लाग्छ र कुहिन्छ,' मैकोटका अविनाश बुढाले भने। जिल्लाका दर्जनभन्दा बढी गाविसमा स्याउ खेतीका लागि अनुकुल हावापानी रहेको जिल्ला कृषि विकास कार्यालय रुकुमले जनाएको छ।

                                                                                                                               स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 8:13 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्याउले बजार नपाएपछि १ रुपैयाँ दानाका दरले बिक्री"

Leave a reply