|

संविधानसभा म्याद फेरी छ महिना थपिने भो

काठमाडौं, मङ्सिर १३- प्रमुख राजनीतिक दलद्वारा गठित कार्यदलले संविधानसभा म्याद छ महिना थप्न सहमति जुटाएको छ। सिंहदरबारस्थित शान्ति मन्त्रालयमा सोमबार बसेको कार्यदल बैठकमा मंगलबारको संसद् बैठकबाट अन्तरिम संविधान संशोधन गरी आगामी जेठ १४ सम्म म्याद थप्ने सहमति भएको हो।

कार्यदलका सदस्य एकीकृत माओवादीका सचिव पोष्टबहादुर बोगटीले सर्वोच्च अदालतको फैसलाको भावनाअनुसार मंगलबार बस्ने संसद् बैठकबाटै म्याद थप्ने सहमति भएको बताए। मधेसी मोर्चाका प्रतिनिधि जयप्रकाश गुप्ताले पनि छ महिना थप्ने सहमति भएको बैठकपछि जानकारी दिए।

 बैठकमा सातबुँदे सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा भएको थियो। गुप्ताका अनुसार संविधान निर्माणको काम संवैधानिक समिति र त्यसअन्तर्गतको विवाद समाधान उपसमितिको जिम्मामा रहेकाले त्यसमा छलफल गरी टुंगो लगाउने सहमति भएको छ। शान्ति प्रक्रियाबारे पुनर्वर्गीकरण सकेर मंसिर १८ गतेसम्म सबै क्यान्टोन्मेन्टमा खटिएका विशेष समितिअन्तर्गतका कर्मचारी फर्किसक्ने हुनाले त्यसपछि विशेष समिति बैठक बसी निष्कर्षमा पुग्ने सहमति भएको छ।

 बैठकमा कैलालीबाहेक सबै शिविरको पुनर्वर्गीकरण सकिएको रिपोर्टिङ भएको पनि गुप्ताले बताए। कार्यदलको बैठकमा सातबुँदे सहमतिअनुसार माओवादीको संस्थापन पक्षले सम्पत्ति फिर्ताको निर्णय गर्ने र मोहन वैद्य पक्षले पुनः कब्जा गरिरहेको बारे पनि छलफल भएको थियो।

'घरजग्गा फिर्ताबारे हाम्रो अलि कमजोरी देखिएको बारे छलफल भयो,' बैठकपछि बोगटीले भने। सरकारको नेतृत्व फेर्नेबारे कांग्रेस-एमालेले चाहेको 'जेन्टलमेन एग्रिमेन्ट' पनि नहुने भएको छ। बैठकका अर्का एक सहभागीले नाम नलेख्न आग्रह गर्दै दिएको जानकारीअनुसार सातबुँदे सहमतिमा उल्लेख भएअनुसार राष्ट्रिय सहमति सरकार गठनका लािग अविलम्ब प्रयत्न गर्ने भन्नेबाहेक कुनै सहमति हुनेछैन। तर, कहिलेसम्म कसको नेतृत्वमा यस्तो सरकार बनाउने भन्ने कुनै छलफल भएन।

 बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठनबारे पनि छलफल भएको बोगटीले जानकारी दिए। गुप्ताले बैठकमा द्वन्द्वका बेला माओवादीले प्रयोग गरेका गाडीलाई कानुनमातहत ल्याउनेबारे पनि छलफल भएको जनाए। कार्यदलले मंगलबार बिहान ९ बजे बस्ने एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्षनेताको बैठकमा आफूहरूले गरेको छलफलको 'ब्रिफिङ' गर्नेछ। त्यसपछि दलका नेताहरूले सहमतिलाई अन्तिम रूप दिई संविधानसभा म्याद छ महिना बढाएर जेठ १४ सम्म पुर्‍याउने प्रयोजनका लागि संविधान संशोधन गर्ने औपचारिक निर्णय गर्नेछन्। मंगलबार ३ बजे बस्ने संसद् बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची छ।


                                                                                                                                                                          स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 8:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संविधानसभा म्याद फेरी छ महिना थपिने भो"

Leave a reply