|

संविधानसभाको समयावधि छ महिनाका लागि थप


काठमाडौ, मंसिर १३ - संविधानसभाको थप गरिएको छ महिनाको अवधिमा संविधान लेखन प्रक्रिया सम्पन्न हुनेमा विभिन्न दलका नेताहरुले विश्वास व्यक्त गरेका छन् ।
व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा संविधानसभाको समयावधि छ महिना थप गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरी बाहिरिने क्रममा प्रमुख दलका शीर्ष नेताहरुले शान्ति प्रक्रिया र संविधान लेखनले गति लिएकाले थप गरिएको अवधिमा संविधान लेखनका काम सम्पन्न हुने बताएका हुन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकले नेपालको अन्तरिम संविधान (एघारौँ संशोधन) २०६८ लाई दुईतिहाई मतले पारित गरी संविधानसभाको समयावधि छ महिनाका लागि थप गरेको थियो ।
एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै सरोकारवालाले गम्भीर हुनुपर्ने र बाँकी समयलाई संविधान लेखनमै लगाउनुपर्ने बताए । उनले भने, 'अब राज्य पुनःसंरचनाका विषयलाई जतिसक्दो चाँडै टुङ्ग्याउनुपर्छ ।'
माओवादीका नेता एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले थप गरिएको छ महिनाको अवधिमा संविधान लेखनको काम पूरा हुने विश्वास व्यक्त गरे । उनले भने,  'संविधान लेखनका बाँकी काम पूरा गर्नका लागि दलहरु निकै गम्भीर भएका छन् ।'
त्यस्तै, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले थप गरिएको समयावधिमा संविधान लेखनको काम पूरा गर्नैपर्ने चुनौति दलहरुको अघिल्तिर आएको प्रतिक्रिया दिए ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सर्वोच्च अदालतको आशयअनुरुप संविधानसभाको समयावधी छ महिना थप गरिएको बताए । उनले भने, 'संविधान लेखन र शान्ति प्रक्रियाका धेरै काम गर्न बाँकी नै रहेकाले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्न सकिन्छ ।'
–रासस
                                                                                                                                              स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 7:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संविधानसभाको समयावधि छ महिनाका लागि थप"

Leave a reply