साउदीमा मृत्यु भएकाको एक वर्ष बिती सक्दा पनि शव आएन
दैलेख, मंसिर ११ - वैदेशिक रोजगारका क्रममा साउदी अरब पुगेका जगनाथ–७ मन्धरका बखतबहादुर थापाको एक वर्षअघि मृत्यु भयो । तर परिवारले अझै शव पाएका छैनन् । शव कहिले आइपुग्छ भन्नेबारे थापा परिवार बेखबर छ ।
'श्रीमानको लास देख्न पाउँला भन्ने आशै मरिसक्यो' मृत्यु दर्ताका लागि सदरमुकाम आइपुगेकी थापाकी पत्नी कलाकुमारीले रुदैं भनिन्, 'अब त्यति धेरै ऋण कसरी तिरौं ?' शव नआउँदा परिवारले काजकिरिया गर्न पाएका छैनन् । गाउँकै साहूबाट १ लाख ३५ हजार ऋण काढेर बखतबहादुर ०६५ जेठमा साउदी गएका थिए ।
साउदीमा कुचीकारको रुपमा कार्यरत उनको गत वर्ष असोज २१ गते आजामा भन्ने ठाउँमा गाडीको ठक्करबाट मृत्यु भएको थियो । 'तीन वर्ष बितेपछि आउँछु भन्नुहुन्थ्यो, अखिर सदाका लागि जानुभएछ' उनले भनिन् ।
उनीहरुका ५ वर्षकी छोरी र २ वर्षका छोरा छन् । सासु/ससुरा नभएकाले कलाकुमारीलाई छोराछोरी हुर्काउने र ऋण तिर्ने चिन्ताले दिनरात सताउने गरेको छ । उनी भन्छिन्, 'छोरा सानै छ छोरीले बाबा कहिले आउनुहुन्छ ? भनेर सधैं सोधिरहन्छे । त्यतिबेला साह्रै दु:ख लाग्छ ।'
बखतबहादुरको मृत्युको खबर उनीसंगै रहेका भान्जा नाता पर्ने बमबहादुर खड्काले घटनाको एक दिनपछि सुनाएका थिए । 'शव ल्याउन ३/४ पटक काठमाडौं पुग्यौं । शवमात्रै होइन् , आर्थिक क्षतिपूर्ति पाउने पनि पत्तो छैन' मृतकका नातेदार धनबहादुर बुढाले भने ।
साउदीस्थित नेपाली दुतावास स्रोतका अनुसार उनको शव जीजनस्थित भेद अस्पतालमा राखिएको छ । जगनाथ गाविस सचिव वेदबहादुर जिसीले परराष्ट्र मन्त्रालयको कन्सुलर तथा कानुनी परामर्श शाखाले सिफारिस गरी पत्र पठाइसकेको जनाए ।
वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले गत वर्ष कात्तिकमै शव स्वेदश ल्याउन पहल गरिदिन साउदीस्थित दुतावासलाई अनुरोध गरिसकेको थियो । कुन कारणले शव आउन नसकेको हो भन्नेबारे थापा परिवार अनभिज्ञ छ । 'कतिपटक काठमाडौं गहिरहने ? परराष्ट्रले पहल गरिरहेका छौं मात्र भन्छ' मृतकका जेठान नाता पर्ने बुढाले भने, काठमाडौंमा सहयोग गर्ने चिनजानका कोही नभएर पनि समस्या भयो ।'
स्रोत :कान्तिपुर
