माओवादी कब्जामा रहेको जग्गा किन्नेहरू र वैद्यपक्षीय कार्यकर्ताबीच विवाद
![]() |
कैलालीको चुहामा कब्जा जग्गा जोत्न खोज्ने माओवादी वैद्यपक्षीय कार्यकर्ता र जग्गा धनीहरूबीच शुक्रबार भएको विवाद । तस्बिर : गणेश/कान्तिपुर |
चुहा, कैलाली, कार्तिक २६ -
'सामन्तको जग्गा किन किन्नु भो ? जसलाई पैसा दिनु भा’छ त्यसैसँग जग्गा माग्नुस्’
-माओवादी कार्यकर्ता
'लालपुर्जा तिम्रा छन् कि हाम्रा ? भारतमा डन्डा बजारेर किनिएका जग्गा तिमीहरूले जोत्न खोज्ने ?’ -जग्गाधनी
माओवादी कब्जामा रहेको विश्वनाथ उप्रेतीको जग्गा किन्नेहरू र ट्याक्टर लिएर जोत्न पुगेका वैद्यपक्षीय कार्यकर्ताबीच शुक्रबार भएको विवाद हो यो ।
२०५८ यता माओवादी कब्जामा रहेको उप्रेतीको करिब १२ बिघा जग्गा गत माघमा यहाँका विद्या रावल, बेला रावल, सुरज भूल, नृप स्वाँर, प्रेम भूल, टेकबहादुर बोहरालगायतकाले किनेका हुन् । प्रमुख दलहरूबीच भएको कब्जा जमिन फिर्ता गर्ने सहमति उल्लंघन गर्दै वैद्यपक्षीय माओवादी कार्यकर्ता उक्त जग्गा जोत्न पुगेका थिए । त्यसपछि नयाँ जग्गाधनी र उनीहरूबीच विवाद भएको हो । माओवादी कार्यकर्ताहरू सामन्तको जग्गा लिएको भन्दै कड्किएका थिए भने जग्गाधनीले आफूहरूको दुःखको कमाइले किनेको जवाफ दिएका थिए । उप्रेतीसँगै किनेका केहीको जग्गा भने उनीहरूले कमिसन खाएर छाडिदिएको आरोप जग्गाधनीहरूले लगाए ।
जग्गा जोत्न आएकी माओवादी कार्यकर्ता सुनिता चलाउनेले यो लडाइँ जमिन्दारी प्रथाविरुद्ध र क्रान्तिकारी भूमिसुधारका लागि भएकाले त्यसो नभएसम्म कब्जा जमिन नछाड्ने बताइन् । जग्गाधनीले पनि आफूहरूको जग्गा कुनै हालतमा जोत्न नदिने बताए । आफूहरूबाट कमिसन नपाएकाले यसो गरिएको उनीहरूले उल्लेख गरे ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा उपाध्यक्ष बाबुराम पक्षधर कार्यकर्ताले कब्जा नभएको भन्दै जग्गा किन्न उक्साएको आरोप वैद्य पक्षको छ । 'हिजोका दिनमा सामन्तसित लडाइँ लड्नुपरेको थियो, अबका दिनमा आफ्नै साथीहरूसित लड्नुपर्ने स्थिति आएको छ,' उनीहरूले भने ।
केही दिनअघि मात्र यही जग्गाको धान भित्र्याउन दाहाल र वैद्य दुवै पक्षका कार्यकर्ताबीच जुहारी चलेको थियो । दाइँ नगर्दै उनीहरूबीच धान खोसाखोस भएको थियो ।
चलाउनेले दाहाल पक्षीय एरिया सेक्रेटरी अजय ढकालले साढे ३ बिघा जग्गाको करिब ९० क्विन्टल धान १६ गते राति कार्यकर्ता ल्याएर थ्रेसर लगाई दाइँ गरी चौलागाईं ट्रेडर्समा बेचेको आरोप लगाएकी
छन् । एरिया सेक्रेटरी ढकालले वैद्य पक्षले धान काट्दै बेच्दै गरेपछि करिब १० कट्ठा जग्गाको धान मात्र आफूले ल्याउन पाएको बताएका छन् ।
कब्जा जग्गा छाड्न विगतका आश्वासनहरू कार्यान्वयन गरिनुपर्ने वैद्यपक्षीयको माग छ । माओवादी कैलाली इन्चार्ज हरि ज्ञवालीले क्रान्तिकारी भूमिसुधारको मुद्दा थाती राखेर जग्ग्ाा फिर्ता आफूहरूलाई मान्य नहुने बताए ।
कब्जा जग्गा किन्नेलाई पनि उपभोग गर्न नदिइने चेतावनी उनले दिए । 'हिजोका दिनमा दाहाल, बाबुरामले भनेर हामीले जग्गा कब्जा गरी भूमिहीन सुकुम्बासी मुक्त कमैयालाई दिएका छौं, उनीहरूलाई अहिले रोडमा पठाउन सक्दैनौं,' उनले भने । प्रधानमन्त्री भट्टराईले यसबारे स्पष्ट जवाफ नदिएसम्म जग्गा फिर्ताको कुरा कागजमै सीमित रहने दाबी उनले गरे
स्रोत :कान्तिपुर