|

सुर्तीजन्य वस्तु बिक्रीमा सर्वोच्चको रोक

काठमाडौ, कार्तिक २४ - सुर्तीजन्य पदार्थबाट स्वास्थ्यमा हुने हानिबारे चेतावनीयुक्त चित्र र सन्देश नभएका वस्तु आयात, उत्पादन र बिक्री नगर्न सर्वोच्चले बुधबार अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कमलनारायण दासको एकल इजलासले यसमा विपक्षीहरूका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न सर्वोच्चले विपक्षीहरूलाई मंसिर ५ गते बोलाएको छ ।

आदेश जारी भएपछि चुरोट, खैनी, गुट्खा, सुर्तीलगायत वस्तुको बट्टा र्‍यापर्स, प्याकेट, खोल आदिको बाहिरी भागको पचहत्तर प्रतिशतमा फोक्सो, मुख आदिको क्यान्सर भएको, अप्रत्यक्ष धूमपानले असर गरेको लगायत रंगीन चार कलरका घातक चित्र भएका वस्तु मात्र बिक्री वितरण गर्न पाइने भएको छ । ती मात्र आयात गर्न पाइने छ । त्यस्ता चित्र एवं सन्देशयुक्त सुर्तीजन्य वस्तु बजारमा नभएकाले हाललाई पूरै थन्किने भएका छन् ।

नयाँ कानुनअनुसार विदेशी ब्रान्डका उत्पादनहरू पनि प्रभावित भएका छन् । विदेशी ब्रान्डका चुरोट, बिँडी र खैनी आयात गर्दा पनि ती चुरोट, बिँडी र खैनीको बट्टा वा पाकेटको कम्तीमा ७५ प्रतिशत भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ' भन्नेजस्ता सन्देश र चित्र उल्लेख भएको हुनुपर्ने व्यवस्था गरी चित्रात्मक सन्देशलाई प्राथमिकता दिइएको छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा सुर्तीजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेटको बाहिरी भागमा नेपालीभाषामा लेखिएको चेतावनीयुक्त सन्देशसहितको सुर्तीजन्य पदार्थ मात्र आयात, उत्पादन र बिक्री वितरण गर्न पाउने व्यवस्था छ । उक्त बाध्यकारी कानुनी प्रावधान पालना नभएकाले परमादेश माग गर्दै मंगलबार रिट दायर गरिएका थिए । रिट उपभोक्ता हित संरक्षण मञ्चका ज्योति बानियाँ र नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष केन्द्रकुमार श्रेष्ठ, महासचिव हीराभाइ श्रेष्ठ तथा सचिव जगन्नाथ मिश्रले संयुक्त रूपमा दायर गरेका हुन् । एक अध्ययनअनुसार नेपालीले वर्षको करिब २० अर्ब रुपैयाँ चुरोटको धूवाँमा उडाउँछन् ।

                                                                                                                                           स्रोत :कांतिपुर 

Posted by Butwalonline on 8:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुर्तीजन्य वस्तु बिक्रीमा सर्वोच्चको रोक"

Leave a reply