|

आगलागीमा परी मलेसियामा चार नेपालीको मृत्यु

क्वालालम्पुर (मलेसिया), आश्विन २७ - आगलागीमा परी मलेसियाको शाहअलाममा रहेको एउटै कम्पनीमा कार्यरत चार नेपाली युवाको बुधबार ज्यान गएको छ ।

मंगलबार राति ११ बजे होस्टलमा सुतिरहेका बेला अचानक आगलागी भएपछि शाहअलामस्थित सेक्सन २० मा रहेको पानासोनिक कम्पनीमा कार्यरत सिन्धुली घर भएका चक्रबहादुर बलुम (तामाङ), पाँचथरका दिपेन्द्र राना, मोरङका शिव राना र ठेगाना नखुलेका दिपेन्द्र रानाको मृत्यु भएको हो ।

मृतकमध्ये चक्रबहादुरको घटनास्थलबाट अस्पताल लैजाँदै गर्दा र अन्य तीनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको त्यही कम्पनीमा कार्यरत सन्तोष घिमिरेले बताए । उनका अनुसार सोही घटनामा घाइते भएका पाँच जनामध्येका एक बुटवल घर भई त्यहाँ कार्यरत चन्द्र सिञ्जालीमात्रै बाँच्न सफल भएका छन् । उनको हाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मृतकहरूको शव भने अस्पतालमै रहेको र नेपाल पठाउन आवश्यक तयारी भइरहेको बताइएको छ ।

उनीहरू बस्दै आएको होस्टलमा विद्युत् सर्ट हुँदा सो आगलागी भएको बताइएको छ । राति आगलागी भएको देखेपछि नजिकैका छिमेकीले प्रहरीलाई खबर गरेका थिए । घटना भएको करिब १० मिनेटमै प्रहरीलगायत उद्धार टोलीले घाइते उनीहरूको उद्धार गरी नजिकैको तेङ्कु आम्प्वान रुहीमा अस्पतालमा पुर्याइएको थियो । घटनास्थल राजधानी क्वालालम्पुरबाट २८ किलोमिटर पश्चिममा पर्दछ ।
स्रोत :कान्तिपुर न्युज 

Posted by Butwalonline on 11:50 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आगलागीमा परी मलेसियामा चार नेपालीको मृत्यु"

Leave a reply