अस्ताए गजल सम्राट जगजीत सिंह

अस्पतालका प्रवक्ता सुधीर दगा ओकरका अनुसार आइसीयूमा राखिएका उनी डाक्टरको विशेष निगरानीमा थिए । उच्च रक्तचापले मष्तिकघात हुने गर्छ । यसअघि सिंहलाई सन् १९९८ मा हृदयघात भएको थियो भने चार वर्षअघि रक्तसञ्चारमा समस्या आएको थियो । त्यसबेला पनि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
भारतमा गजल सम्राट मानिने सिंहको अवस्थालाई लिएर कलाकारहरूले चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । सन् १९४१ मा राजस्थानको श्री गंगानगरमा शिख परिवारमा जन्मेका सिंहले पंजाबी, हिन्दी, उर्दु, बंगाली, गुजराती, सिन्धी र नेपाली भाषामा गीत र गजल गाएका छन् ।
चलचित्रको पाश्र्वगायन भन्दा गजललाई पृथक पहिचान दिएका कारण सिंह धेरै स्रोताको मन पराइएका गायक हुन् । प्रेमगीत, अर्थ, सरफरोश लगायतका हिन्दी चलचित्रहरूमा पनि उनले गाएका छन् । प्रेम गीतको 'होठो से छू लो तुम मेरा गीत अमर कर दो' उनको निकै चर्चितमध्येको गीत हो । उनले सन् २००३ मा भारतको तेस्रो ठूलो नागरिक सम्मान पद्मभूषण पाएका थिए ।
सन् ६० को दशकदेखि गाउन थालेका सिंहले चित्राको साथ पाएपछि १९६७ देखि साथै गाउन थालेका थिए । १९६९ मा दुवैबीच विवाह भएको थियो । सन् १९९० मा सिंहको एकमात्र छोरो विवेक २१ वर्षको उमेरमा सवारी दुर्घटनामा मृत्यु भएपछि चित्राले गाउन छाडिन् ।
गहिरो आघातपछि पनि जगजीतले भने गायन यात्रा जारी राखेका थिए । चित्रा सिंह, लता मंगेशकरलगायतसँग गाएका तथा एकल गरी उनका करीब ५० वटा एल्बम छन् । यसपटक उनी मुम्बइमा गजलका अर्का प्रसिद्ध गायक गुलाम अलीका साथ एउटै मञ्चमा गाउने कन्सर्ट तय भएका बेला गंम्भीर बिरामी परेका थिए ।
जगजीतले नेपाली भाषामा गाएको 'कुन माया सदर भो, मेरो माया बदर भो..' निकै चर्चित थियो ।
स्रोत :कान्तिपुर न्युज