पेटको अपरेसन गर्दा मृगौलासमेत झिकियो
चितवन, कात्तिक १- चितवन मेडिकल कलेज, भरतपुरमा एक बिरामीको पेटमा बढेको पानीको फोकोसँगै फियो र मृगौला झिकिँदा अपरेसन गर्ने चिकित्सकले नै थाहा पाएनन्।
एपेन्डिक्स र पानी जमेको उपचार गर्न आएकी पश्चिम चितवन गीतानगर ९ पारसनगरकी ७३ वर्षीया टीकादेवी लामिछानेको पानीको फोकोसँगै फियो र देब्रे मृगौला चिकित्सकले फालिदिएका हुन्। उनी हाल पनि चिकित्सकको रेखदेखमा उपचाररत छिन्। मृगौला फालिएपनि उनको स्वास्थ्यमा सुधार भैरहेको दाबी चिकित्सकहरुको छ।
लामिछानेले यसअघि भरतपुर अस्पतालमा समेत उपचार गराउँदा भने पानी जमे पनि मृगौला तत्काल फाल्न नपर्ने तर तत्काल अप्रेसन गर्नुपर्ने बिरामीका आफन्तलाई बताएका थिए। गत भदौ २० गते पेट दुखेर भरतपुर अस्पताल भर्ना भएकी लामिछाने अप्रेसन गर्नुपर्ने भएपछि तत्काल अप्रेसनका लागि असोज ९ गते चितवन मेडिकल कलेज भर्ना भएकी थिइन्।
भर्नाको भोलिपल्ट नै उनको पेटको शल्यक्रिया भएको अस्पतालको रिपोर्टमा उल्लेख छ। उनको शल्यक्रियापछि असोज १५ गते डिस्चार्ज भएको आफन्तहरुले जानकारी दिए।
'भरतपुर अस्पतालमा अप्रेसन गर्न ढिला हुन्छ भनेकाले यहाँ ल्यायौं', बिरामीका नाति शैलेश लामिछानेले भने, 'तर जानकारी नै नदिई मृगौला फालिदिए।'
मृगौलासहित शरिरको अंग फाल्दा पनि अस्पताल जिम्मेवार नबनेको आरोप पीडितहरुले लगाएका छन्। मृगौला र फियो फालिएपछि आफ्नी हजुरआमाको अवस्था कमजोर रहेको शैलेशले बताए।
बिरामी डिस्चार्ज भएर लगेको केही दिनमै समस्या देखिएपछि फेरि भर्ना भएकी उनको पुनःजाँचपछि मात्र शरीरमा मृगौला नभएको पत्तो लागेको थियो।
बिरामीको सम्पूण जाँचसँगै वायोस्कोपी गर्दा मृगौला र फियो नभएको भेटिएको उपचारमा संलग्न चिकित्सकहरुले स्वीकार गरेका छन्।
बिरामीको मृगौला फालिएको थाहा पाएपछि आफन्तहरुले अस्पतालसँग जानकारी माग्दा उल्टै दुर्व्यवहार भएको आफन्तहरुले बताए।
गत २३ गतेदेखि पटक पटकको छलफलपछि सोमबार भएको छलफलमा मात्र चिकित्सकहरुले मृगौला निकालिएको पानीको फोकोमा मृगौला भएको पहिले थाहा नभएको बताए।
'मृगौला पुरै सुन्निएर पानीको फोको बनिसकेको रहेछ अस्पतालका बरिष्ट चिकित्सक जागेश्वर गौतमले प्रष्टीकरण दिदै भने अप्रेसनको क्रममा पानी र गिर्खाहरुले घेरिएको डल्लो निकालियो तर त्यो के हो भन्ने पछि जाँच गरेपछि मात्र थाहा भएको हो। 'बिरामीका आफन्तलाई जानकारी नदिई मृगौला निकाल्नु गल्ती भएको भन्दै उनीहरुलाई बुझाउन ढिलाइ भएकाले तनावको अवस्था आएको उनले बताए।
उनका अनुसार बिरामीको अर्को मृगौलामा पनि केही गिर्खाहरु अझै छन्। निकालिएको मृगौला अप्रेसनका बखत ३०२४ घनसेन्टीमिटरको रहेको चिकितसकहरुले दाबी गरेका छन्। सामान्य अवस्थामा मानिसको मृगौला १५० घनसेन्टिमिटरको मात्र हुनुपर्ने गौतम बताउँछन्।
भरतपुर अस्पतालको जाँच रिपोर्टमा भने चितवन मेडीकल कलेजको रिपोर्टले भन्दा केही सानो आकार मृगौलाको देखिएको छ। लामिछानेको उपचारका संलग्न भरतपुर अस्पतालका चिकित्सक डा.जगन्नाथ तिवारीले पहिले मृगौला वा कुन अंग हो पहिचान गर्न सकिने बताए। उनको शल्यक्रियाको बखतमा के भो मलाई थाहा भएन डा.तिवारीले भने तर अस्पताल पुगको बिरामीको मृगौला झिकिनेगरी शल्यक्रिया गर्दा चिकित्सकले ध्यान चाहि पुर्याउनु पर्छ। पुरै किड्नी खराब थियो वा थिएन त्यसको छुट्टै जाँच गर्नै बाँकी थियो मैले हेर्दा गिर्खाहरुले बिरामीको कलेजो,पेट र किडनीमा असर गरेको पाएको थिएँ।
बिरामीको उपचारमा सर्जन राजिव शाह ,चिकित्सक किशोर ताम्राकार लगायतका चिकित्सकहरु सामेल थिए।
'चिकित्सक हुँदैमा सबै कुरा पहिल्यै थाहा हुन्छ भन्ने छैन' बिरामी हेरेका मेडिकल कलेजका चिकित्सक ताम्राकारले भने, 'मृगौला पानीको फोकोसँगै सिस्ट सम्झेर निकाल्यौ। त्यो मृगौला थियो भन्ने थाहा नै भएन।'
'बिरामीको पुनः जाँच गरेपछि मात्र हामीले मृगौला हो भन्ने पुष्टि गर्यौँ', उनले अगाडि भने 'तर निकाल्नुपर्ने रोग नै निकालेका हौ, तर आफूले थाहा नपाई जानकारी दिन सकेनौँ।'
'कुनै पनि चिकित्सकले लामिछानेको पेटको डल्लो मृगौला नै हो भन्ने कुरा पुन: जाँच नगरी थाहा हुन्थेन', उनले दाबीको स्वरमा भने।
अर्का चिकित्सक राजिव शाह भने अस्पताल प्रशासन र पीडितहरुसँगको छलफलमा उपस्थित नै भएनन्। अस्पतालका संचालक डा.हरिश न्यौपानेले भने बिरामीलाई नोक्सानी हुने काम अस्पतालले नगरेको र कसैले उचालेको भरमा पीडितहरु आक्रोशमा आएको बताए।
अस्पताल प्रशासनसँग दिनभरीको छलफल असफल भएपछि प्रतिनिधित्वका आधारमा दुबै पक्षको साँझ पुनः पीडितसँग भएको छ।
पीडित पक्षले चारबुँदे माग अस्पताल समक्ष राखेको छ। अस्पतालले गरेको लापरबाही र दुर्व्यवहारका लागि माफी माग्नुपर्ने ,पिडितको उपचार गर्दा पहिले भएको र पछि हुने सम्पूर्ण खर्च अस्पतालले बेहोर्नुपर्ने ,आईन्दा यस्ता नघटाउने प्रतिवद्धता सहित अस्पतालले विञप्ती जारी गर्नुपर्ने सहितको माग पुरा गर्ने सहमती अस्पतालले जनाएको छ। मंगलबार पुन अन्तिम वार्ता गर्नेगरी साँझको वार्ता टुंगिएको पिडित पक्षका वार्तासंयोजक गुणराज सुवेदीले जानकारी दिए। छलफलका लागि अस्पताल र पिडित पक्षको गरी ६ सदस्यि वार्ता कमिटी गठन समेत भएको छ।
स्रोत :नागरिक न्युज