|

एनआरएनको पाँचौं विश्व सम्मेलन राजधानीमा सुरु

काण्ठमाण्डौं ,आश्विन २५ - प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक समृद्धिका लागि आ–आफ्नो ज्ञानसीपलाई प्रदान गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि राजधानीमा सुरु भएको गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को पाँचौ विश्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले एनआरएनको सहयोग विना मुलुकमा आर्थिक समृद्धि र रुपान्तरण सम्भव नरहेको पनि बताउनुभयो ।
शान्ति र संविधान लेखनको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताउँदै प्रधानमन्त्रीले मुलुकमा अब चाँडै सकारात्मक परिणाम देखापर्ने र सङ्क्रमणकालको अन्त्य हुने दाबी गर्नुभयो । नेपालमा लगानी गर्ने बजार सानो छ भन्ने भ्रम नपाल्न आग्रह गर्दै प्रधानमन्त्री भट्टराईले संसारका कतिपय आर्थिक उन्नतिमा फड्को मारिसकेको देशको भन्दा यहाँ बजार फराकिलो रहेको बताउनुभयो । आर्थिक सामाजिक क्षेत्रमा रहेको असमानता र विभेद अन्त्य नभएसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने भनाइ पनि प्रधानमन्त्रीले राख्नुभयो ।
आफ्नो सरकारले डेड महिनामा दीर्घकालीन आर्थिक विकासका लागि आवश्यक पूर्वाधार तयार पारेको र त्यसलाई मूर्तरुप दिन लागिरहेको प्रधानमन्त्रीको भनाइ छ । आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्रीले सरकारले आगामी वर्षलाई लगानी वर्ष को रुपमा मनाउन तयारी गरिरहेको जानकारी गराउनुहुँदै त्यसलाई सफल पार्न एनआरएनहरुलाई आह्वान गर्नुभयो ।

तीन दिनसम्म चल्ने एनआरएन सम्मेलनमा विभिन्न देशबाट सात सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनको क्रममा दोहोरो नागरिकताको प्रावधान, सामुहिक लगानी, खुला विश्वविद्यालय, सामाजिक क्षेत्रमा एनआरएनको संलग्नता, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन चालिनुपर्ने कदम, सङ्घको वैधानिकता एवम् वित्तीय सुदृढीकरणका लागि चाल्नुपर्ने भावी रणनीति तथा कार्यक्रम, गैरआवासीय नेपाली सम्बन्धी कानुनको पुनरावलोकन लगायतका विषयमा वृहद छलफल हुने कार्यक्रम छ ।

यसैबीच “हाम्रो सञ्जाल, हाम्रो पहिचान ः समृद्ध नेपाल” भन्ने नारासहित सुरुभएको सम्मेलनले एनआरएनको नयाँ नेतृत्व चयन गर्नेछ । सङ्घको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ । हिराचन जापानबाट र लामिछाने रुसबाट प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी हुनुहुनन्छ ।

Posted by binodupdatenews.blogspot.com on 10:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एनआरएनको पाँचौं विश्व सम्मेलन राजधानीमा सुरु"

Leave a reply