|

म्याग्दीमा निशुल्क वाइफाई सेवा


म्याग्दी, आश्विन २८ - 'बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जालेरुमाल' गीतले प्रख्यात बेनीबजार सुन्दा पत्यारै नलाग्ने गरी इन्टरनेटको जाले रुमालमा ढाकिन थालेको छ । अझ कतिले त सपनाका कुरा पनि भन्ठान्छन् ।

धौलागिरि र चुरेन हिमालको फेदीमा अवस्थित दुर्गम जिल्ला म्याग्दी, कालीगण्डकी र म्याग्दी नदीको निरन्तर कटानले त्रिकोणाकारमा साँघुरिएको सानो बेनी बजारका साना-ठुला भट्टी (रेस्टुरेन्ट) हरूले हिजोआज मःमः, चाउमिन, सुकुटी, छोयला वा विभिन्न ब्रान्डका मदिराहरू समावेश गरिएका मेनुसँगै नयाँ टिप्स थपेका छन्, 'फ्री वाइफाई' । २ मेगावाइट प्रतिसेकेन्ड बेन्डवाइड डाउनलोड/अपलोड क्षमता सहित धौलागिरिको पहिलो म्याग्दी-काली वायरलेस इन्टरनेट सेवा प्रदायकले सुलभ मूल्यमा हाइस्पिड इन्टरनेट उपलब्ध गराउन थालेपछि यहाँका होटल/रेस्टुरेन्टले समेत ग्राहकलाई आकषिर्त गर्न वायरलेस नेटवर्क अर्थात् वाइफाई रेडियो राख्न थालेका हुन् । केही व्यक्तिले समेत घरमा वाइफाई सेवा लिएका छन् । सहरमा वाइफाई इन्टरनेट सामान्य भए पनि म्याग्दीजस्तो दुर्गम क्षेत्रका घर, होटल/रेस्टुरेन्ट र सरकारी कार्यालयमा समेत वाइफाई इन्टरनेट नेटवर्क गरिनु आफैंमा रोमाञ्चक पनि हो ।

दुर्गम हिमाली बस्तीमा ताररहित इन्टरनेट मार्फत 'आइटीको नमुना जिल्ला' बनाउने महत्त्वाकांक्षी लक्ष्यसहित म्याग्दी-काली सञ्चार सहकारी संस्थाले करिब १७ लाख ५० हजारको लागतमा इन्टरनेट सेवा प्रदायक (आइएसपी) स्थापना गरेको हो । होटल/रेस्टुरेन्टले मात्र होइन जिल्ला प्रशासन कार्यालय, केही सरकारी, गैर सरकारी, बैंक/वित्त कम्पनीहरूले समेत कार्यालमा वाइफाई नेटवर्क गरेका छन् । 'कार्यालयलाई वाइफाई नेटवर्क गरिँदा कार्यालयको काममा धेरै सहज भएको छ । पहाडी क्षेत्रमा वाइफाई इन्टरनेट नेटवर्क गरिएको यो जिल्ला सम्भवतः पहिलो हो ।

'कार्यालयसँगै आवास भएकोले बुलुका/विहान सूचनाबाट अपडेट हुन समेत सहज भएको छ,' सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले बताए । निशुल्क वाइफाई चलाउन पाउने भएपछि इन्टरनेट चलाउने कर्मचारी वा शहरिया युवायुवति मःमको डल्लो चपाउँदै वा मदिराको चुस्कीसँगै ल्यापटप, नोटवुक वा मोबाइल बोकेरै रेस्टुरेन्टमा पुग्न थालेका छन् । वाइफाईले ग्राहकलाई इन्टरनेटको जालोमा व्यस्त मात्र गराएको छैन, होटल/रेस्टुरेन्टको व्यापार पनि फस्टाएको छ । ग्राहक आर्कषित गर्न सदरमुकाम बेनीको पुरानो होटल डल्पिmनले निशुल्क वाइफाई सेवा दिन थालेको १५ दिनमै हुलाकचोकको मयूर फास्टफुड रेस्टुरेन्टले वाइफाई जोडिहाल्यो । हिमालपारिको मुस्ताङ जाने/र्फकने राष्ट्रिय-अन्तर्राष्ट्रिय पाहुनालाई 'सेवा' पुर्‍याउन होटल लेतेले पनि निःशुल्क वाइफाई दिएको छ ।

अञ्चलको पहिलो म्याग्दी-काली वायरलेस ईन्टरनेट सेवा प्रदायक का प्रमुख टेक्निसियन बामदेव गौतमका अनुसार ७० व्यापारिक समूहले १ सय २९ किलोबाइट प्रतिसेकेन्ड क्षमताको वाइफाई राखेका छन् ।

होमयुजरहरूले भने १ सय २८ र ६४ किलोबाइट/सेकेन्ड क्षमताका इन्टरनेट प्याकेज चलाउने गरेका छन् ।

इन्टरनेट प्रविधिको दुनियाँमा पछिल्लो पटक भित्रिएको रोमाञ्चकारी टेक्निक हो, वायरलेस नेटवर्किङ अर्थात् वाइफाई रेडियो । घर वा कार्यालयमा बायरलेस नेटवर्क सजिलै इन्स्टल गर्न सकिन्छ । ८सय२ दशमलव ११ वायरलेस प्रविधिमा रेडियो तरंगहरूको प्रयोग हुन्छ ।

रेडियो तरंग भित्ताहरूबाट पनि सजिलै पार गर्न सक्छ । यसको रेन्ज र स्पिड धेरै हुन्छ र धेरै उपभोक्तालाई सपोर्ट गर्छ । प्रतिस्पर्धी नेपाल टेलिकमको इन्टरनेट प्याकेज भन्दा सेवा सस्तो भएकाले अनलिमिटेड, रात्रि, दिवा तथा घन्टा लगायतका प्याकेजमा सेवा उपभोग गर्ने सिंगल प्रयोगकर्ता बढी रहेको संस्थाले जनाएको छ ।

Posted by Butwalonline on 9:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "म्याग्दीमा निशुल्क वाइफाई सेवा"

Leave a reply