|

निमोनियाँ-पाँच वर्षमुनिका बालबालिकालाई हुने प्राणघातक रोग

पाँच वर्षमुनिका बालबालिकालाई हुने प्राणघातक रोगमध्ये निमोनियाँ पनि एक हो । विकासोन्मुख देशहरूमा मात्र प्रतिवर्ष करिब ३० लाख बालबालिकाको मृत्यु निमोनियाँकै कारण हुन्छ । नेपालमा मृत्यु हुने बालबालिकामध्ये करिब २० प्रतिशतलाई निमोनियाँ भएको पाइन्छ, तर विकसित मुलुकहरूमा निमोनियाँले खासै असर पारेको देखिँदैन । विकासोन्मुख देशहरूमा निमोनियाँ बढी हुनुको कारण शिशुको जन्म तौल कम हुनु पनि हो । शिशु जन्मनेबित्तिकै उसको तौल २ किलो ५ सय ग्रामभन्दा माथि हुनुपर्छ । हाम्रो देशमा अधिकांश गर्भवती महिलामा उचित स्याहार तथा पोषण नपुगेका कारण धेरै शिशुको तौल २ किलो ५ सय ग्रामभन्दा कम हुने सम्भावना हुन्छ । त्यस्तै कुपोषण, भिटामिन 'ए' को कमी, राम्रो स्तनपान नगराउनु, कमजोर आर्थिक एवं सामाजिक अवस्था, ठूलो र अव्यवस्थित परिवार अनि वातावरणीय प्रदूषणजस्ता समस्याले गर्दा पनि निमोनियाँ बढ्न तथा फैलिन मद्दत पुग्छ ।

विशेष गरी जाडोयाममा शिशुलाई रुघा तथा अन्य श्वास-प्रश्वाससम्बन्धी भाइरसजन्य रोग लागिरहन्छन् । यस्तो रोगले च्यापेको अवस्थामा शिशुहरू कमजोर हुन्छन् । यस्तो अवस्थामा उसलाई अझ चिसो लाग्न नदिन हावाको प्रवाह बन्द गरिएको हुन्छ अर्थात् गुम्साइएको हुन्छ । यसरी गुम्साएको अवस्थामा शिशुलाई निमोनियाँले च्याप्ने सम्भावना अझ बढी हुन्छ ।

निमोनिया विभिन्न किसिमका हुन्छन् । विभिन्न किसिमका निमोनियाँका लक्षण फरक-फरक भए पनि केही लक्षणचाहिँ एक अर्कासँग मिल्छन् । शिशुलाई जाडो भएर ज्वरो आउनु, काँप्नु, श्वास छिटोछिटो फेर्नु तथा खोकी लाग्नु निमोनियाँका साधारण लक्षण हुन् । शिशुले दूध चुस्नु छोड्नु, अति छिटोछिटो स्वास फेर्नु, कोखा हान्नु तथा शिशु नीलो हुँदै जानु

निमोनियाँको खतरनाक अवस्था हो । यस्ता खतरनाक लक्षण देखा पर्ना साथ उपचार सुरु गरिएन भने शिशुको ज्यान जान सक्छ ।

तीन महिनादेखी तीन वर्षसम्मका बालबालिकालाई हुने निमोनियाँको करिब ४० प्रतिशत निमोनिया भाइरसबाट हुन्छ । भाइरसद्वारा हुने निमोनियाँ धेरै खतरनाक हुँदैन, तर भाइरसले गर्ने निमोनियाँ र ब्याटे रियाले गर्ने निमोनियाँको लक्षणमा खासै फरक हुँदैन । भाइरसले संक्रमण गरेको बेला पनि ब्याक्टेरियाले पनि संक्रमण गरेर निमोनियाँ भएको हुन सक्छ । त्यसैले निमोनियाँ शिशुहरूका लागि खतरनाक रोग नै हो भनेर बुझ्नुपर्छ । कुनै पनि किसिमको निमोनियाँको उपचारमा ढिलाइ गर्नुहुँदैन ।

निमोनियाँ एक किसिमको सरुवा रोग हो । निमोनियाँका जीवाणु हावाको माध्यमबाट फोक्सोसम्म पुग्छ । त्यसैले वातावरणीय प्रदूषण मुख्य रूपले हावाको प्रदूषणमा हामीले विशेष ध्यान पुर्‍याउनुपर्छ । शिशुको नजिक चुरोट, बिंडी खानु हँुदैन तथा शिशुलाई बढी धूवाँ भएको ठाउँमा राख्नु पनि राम्रो होइन । यसबाहेक शिशुको पोषणमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । शिशु छ महिनाको नहुन्जेल आमाको दूध मात्र ख्वाउनुपर्छ । विश्व स्वास्थ्य संघले शिशु ६ महिनाको नपुगेसम्म चिकित्सकको सल्लाहबिना पानी पनि नख्वाउनु भन्ने नारा दिएको छ । यसले निमोनिया मात्र नभई अन्य भाइरसबाट हुने रोगबाट

शिशुलाई जोगाउँछ । त्यस्तै शिशुलाई चिसोबाट जोगाउनुपर्छ एवं सरसफाइमा सुधार ल्याउनुपर्छ ।

यी सबै उपाय अपनाउँदा-अपनाउँदै पनि शिशुलाई निमोनियाँ हुन सक्छ । निमोनियाँ नै भएको हो भन्ने पक्का गर्न छातीको एक्सरे तथा अन्य परीक्षणहरू गर्नुपर्ने हुन सक्छ । निमोनियाँ भएको शिशुलाई एन्टिवाइटिकसँग अन्य औषधीहरू पनि दिनुपर्ने हुन सक्छ । निमोनियाँका जीवाणुअनुसार तथा रोगको प्रकृति हेरेर एन्टिबायोटिक छनोट गर्नुपर्छ । कुनै-कुनै अवस्थामा बिरामीलाई भर्ना गरेर सुईको माध्यमबाट पनि औषधी दिनुपर्छ । चिकित्सकको सल्लाहबमोजिम, सही मात्रा र समयमा शिशुलाई औषधि सेवन गराए निमोनियाँ सतप्रतिशत निको हुन्छ ।

डा. बालकृष्ण साह, मेची अञ्चल अस्पताल

Posted by Butwalonline on 11:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "निमोनियाँ-पाँच वर्षमुनिका बालबालिकालाई हुने प्राणघातक रोग"

Leave a reply