|

प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौँ, साउन २९- देशको ३४ औँ प्रधानमन्त्रीका रुपमा छ महिना नौ दिनअघि शपथ ग्रहण गरेका प्रधानमन्त्री झलनाथ खनालले आज राति राष्ट्रपति रामवरण यादवसमक्ष राजीनामा बुझाएका छन्। शान्ति, संविधान र राष्ट्रिय सहमतिका दिशामा वाञ्छित प्रगति नभएको भन्दै प्रधानमन्त्री खनालले राजीनामा दिएका हुन्।
राजीनामा दिन खनाल राति राष्ट्रपति भवन शितल निवास पुगेका थिए।

राजीनामा बारे व्यवस्थापिका-संसदको भोलि सोमबारको बैठकमा प्रधानमन्त्री खनालले सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रपतिसमक्ष प्रधानमन्त्री खनालले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (७) को खण्ड (क) बमोजिम लिखित राजिनामा दिएकाले सोही धाराको उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
वर्तमान मन्त्रिपरिषद्द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यप्रति धन्यवाद व्यक्त गरेका छन्।
राष्ट्रपतिले संविधानको धारा ३८ (१) अनुसार सहमतिबाट प्रधानमन्त्रीको नाम प्रस्तुत गर्न निश्चित समय दिनेछन्। त्यस अवधिभित्र सहमति नभए ३८ (२) अनुसार बहुमतीय प्रधानमन्त्री चुनिनेछ।
साभार:नागरिक

Posted by Butwalonline on 9:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानमन्त्रीद्वारा राजीनामा"

Leave a reply