|

बाढी र पहिरोले तनहुँमा मर्नेको संख्या ६ पुग्यो

समुन्द्र पौडेल, तनहुँ, असार १७- तीन दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी शुक्रबार तनहुँमा ६ जनाको मृत्यु भएको छ। एक बालक खोलामा बेपत्ता छन्। रिसिङ रानीपोखरीस्थित चिसापानी खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाउँदा रानीपोखरी-४ का ४४ वर्षीय हरिकुमार श्रेष्ठ, उनकी छोरी १४ वर्षीय गीता श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। बाबु हरिकुमारसँगै खोला तर्ने क्रममा बाढीले बगाएर १६ वर्षीय दिपेन्द्र श्रेष्ठ भने खोलामै बेपत्ता छन्।

त्यसैगरी घरमा पहिरो आउँदा ऋषिङ रानीपोखरी ७ पोल्टयाड्की १९ वर्षीया गो माया आले र उनकी १४ दिनकी छोरी सजीन आलेको पहिरोमा पूरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। घाँस काट्न जाँदा पहिरोले पुरिएर भानुमति ८ की १७ वर्षीया पितामाया थापाको समेत मृत्यु भएको छ।
त्यसैगरी गाउँमा आएको पहिरो हेर्न गएकी तनहुँ बन्दीपुरकी चेतमाया भट्टराई पनि पहिरोले धकेल्दा मृत्यु भएको छ। घर आडैमा पहिरो आएपछि पहिरो हेर्न गएकी बन्दिपुर-८ की ७८ वर्षीया भट्टराईलाई माथिबाट आएको पहिरोले धकेलेर फल्दी खोलामा पुर्‍याएको प्रहरीले जनाएको छ। उनको शव फल्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

स्रोत: नागरिक न्युज 

Posted by Butwalonline on 6:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाढी र पहिरोले तनहुँमा मर्नेको संख्या ६ पुग्यो"

Leave a reply