|

तुइन जिन्दगी


काठमाडौ, अषाढ २३ - साता दिनअघि मात्रै पृथ्वी राजमार्ग र घ्याल्चोक चाइनाघाटस्थित खस्टारगाउँमा तुइनबाट खसेर पाँचजना बेपत्ता भए, तुइन चुँडिनुअघि स्थानीयले पटक-पटक पुल बनाउन सरकारलाई आग्रह गरेका थिए । तुइन चुँडियो, त्रिशूलीमा बेपत्ताहरूको अझै अत्तोपत्तो छैन । बुधबार यस्तै दृष्य पुनरावृत्ति भयो राजधानीको कुमारी हलमा । चीनको एउटा पहाडी खोंचको नदी किनारमा गुजारा गर्दै आएको अल्पसंख्यक लिसु समुदायको तुइनसँग जोडिएको जिन्दगीलाई फिल्म 'वाकिङ टु स्कुल' मा हेरेपछि धेरै दर्शकले राजधानीबाट केही किलोमिटरमात्रै टाढा त्रिशूली आसपासको विवशता सम्झे । चाइनाघाटमा पाँच बेपत्ता भएजस्तै फिल्ममा स्कुलबाट फर्केकी किशोरी जियाहुआङ बेपत्ता हुन्छिन् । एउटा बुट जुत्ता र झोला भेटिन्छ, कम्मरमा डोरी र अंकुशे भिरेर स्कुल गएकी किशोरीको हँसिलो अनुहारचाहिँ हुनान प्रान्तको गोङसान पहाडी खोंचमै बिलाउँछ ।  
सन् २००९ मा रिलिज फिल्ममा निर्देशक पेङ जियाहुआङ र पेङ चेनले चीनको ग्रामीण भेकको दुर्दान्त अवस्थालाई मार्मिक श्रपमा उतारेका छन् । पुल नहुँदा अनकन्टारका गाउँलेले बेहोर्नुपर्ने पीडामार्फत उनीहरूले समकालीन राजनीति, गाउँ र सहरबीचको खाडलसँगै ग्रामीण गरिबीको नमुना प्रस्तुत गरेका छन् । गोङसान पहाडी खोंचमा हुर्कदै गरेको दिदी (जियाहुआङ) र भाइ (वावा) फिल्मका मुख्य चरित्र हुन् । कामका लागि बुवा सहरमा गएका कारण तुइन तारिदिने भरपर्दो मान्छे नभएकाले सातवर्षे वावा स्कुल जानबाट वञ्चित छन्, उनी सधैं फुसले छाएको घरको छानो चढेर दिदी स्कुल गएको हेरिरहन्छन् ।
बालमनोविज्ञानलाई मसिनोसँग केलाइएको फिल्ममा वावाको मनमा हमेशा प्रश्न उब्जिन्छ, स्कुल भनेको कस्तो हुन्छ होला ? तुइन तर्न नसकेकै कारण जुन उसका लागि वर्जित छ । मनोविद्हरूले 'जुन कार्यका लागि अभिभावकले केटाकेटीलाई बन्देज लगाउँछन्, उनीहरूको जिज्ञासाले त्यही काम गर्न उद्वेलित तुल्याउँछ' भनेझैं फिल्ममा हुन्छ, सातवर्षे वावा घरमा कोही नभएका बेला लुकेर तुइन तर्दै स्कुल पुग्छ र झ्यालछेउको झाडीमा लुकेर आफ्नै उमेरका रमाउँदै पढिरहेको हेर्छ ।
दिदी र भाइबीचको प्रेमलाई फिल्ममा दर्शक बाँध्ने गरी बुनिएको छ । स्कुलबाट र्फकंदा एकदिन तुइनबाट खसेर दिदी बेपत्ता हुँदा प्रकट भएको भाइको मनोदशामा दर्शकले आँसु बगाउँछन् । वावाको भूमिका डिङ जियाली र दिदी जियाहुआङको भूमिकामा अना मूलीले गरेको अभिनय अब्बल लाग्छ । फिल्मको बीचतिर इन्टर्नसिप शिक्षिकाका रूपमा सहरबाट दुर्गम गाउँको स्कुल पुगेकी काओ सिवेन गाउँ र सहर जोड्ने संवेगात्मक चरित्रमा छिन् । खाली खुट्टा स्कुल आउने विद्यार्थी र पुल नहुँदा जोखिम मोल्न बाध्य गाउँलेको अवस्थाले उनलाई छुन्छ र सहरबाट 'डोनेसन कलेक्सन' गरेर उनी केही सुधार गर्न खोज्छिन् ।
फिल्मको सुरुवातमा हजुरआमा बिरामी भएपछि सहरमा डाक्टर लिन गएकी जियाहुआङलाई डाक्टरले 'पहाड चढ्ने आरोही हैन' भन्दा पनि दर्शक भावुक हुन्छन् । बुधबारमात्रै 'दुर्गममा जान नचाहने डाक्टरलाई दुई लाख रुपैयाँ जरिवाना लिएर छाडिएको' समाचार पढेकी भक्तपुरकी शान्ति लामाले भनिन्, 'दुर्गम भनेपछि सबै ठाउँको हालत उस्तै हुँदोरहेछ ।' फिल्ममा प्रयुक्त दृष्य बिम्बहरू, सांस्कृतिक सघनता र कथानक बुन्ने शैलीलाई हेर्दा नेपाली फिल्म अठारौं शताब्दीतिरै घिसि्ररहेको अनुभूति दिलाउँछ । तीनदिने चिनियाँ फिल्म फेस्टिभलको दोस्रो दिन देखाइएको फिल्ममा त घटनाको सात महिनाभित्रमै पुल बन्छ र बालबालिका रमाउँदै स्कुल जान्छन्, तर २०२५ मा पृथ्वी राजमार्ग बनाउने क्रममा सामान ओसार्न चिनियाँहरूले बनाइदिएको घ्याल्चोक चाइनाघाटको तुइनचाहिँ कहिले पुलमा परिणत हुने हो, हेर्दै जाउँ ।

Source:Kantipurnews

Posted by Butwalonline on 7:30 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तुइन जिन्दगी"

Leave a reply