जंगली च्याउ खाँदा सात गोठाला विरामी
जाजरकोट, श्रावण ५ - जिल्लाको बारेकोट क्षेत्रको नायकबाडा गाविस वडा नं २, जिरीमा जंगली च्याउ खाएर स्थानीय गोठाला विरामी परेका छन् ।
जिरीको राँगा चौथारी भन्ने लेकमा पाइएको विषाक्त चाउको तरकारी खाएर बिहीबार ७ जना विरामी परेका हुन् । विरामी पर्नेमा ४५ वर्षीय बलबहादुर सिंह, २२ वर्षीय रतनबहादुर सिंह, १६ वर्षीय विनोद सिंह र ३२ वर्षीय खिमबहादुर शाही रहेका छन् ।
बाँकी तीन जनाको नाम खुल्न सकेको छैन । विरामीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घटना स्थल गाउँदेखि १ दिन पैदलको दुरीमा रहेकोले थप जानकारी आउन सकेको छैन ।
विरामीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्साबाट रामनारायण चौधरीको नेतृत्वमा औषधीसहितको स्वास्थ्य टोली घटनास्थलतर्फ पठाइएको जिल्ला स्वास्थ्य प्रमुख डा. झलक शर्मा गौतमले बताए । यस अघि बारेकोटमै च्याउ खाएर १३ जना विरामी परेका थिए ।
Source:Kantipurnews