|

माओवादीमा हस्ताक्षर प्रकरणले तनाव

काठमाडौ, श्रावण १० - करिब एक महिना चलेको माओवादीको केन्द्रीय कमिटी बैठकको अन्तिम दिन सबै विषयमा सहमति भए पनि हस्ताक्षर अभियानलाई लिएर केही बेर तनाव भयो । अध्यक्ष पुष्पकमल दाहाल पक्षका केन्द्रीय सदस्यहरूले बैठकमा उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराई पक्षले संकलन गरेको केन्द्रीय सदस्यका हस्ताक्षर सार्वजनिक गर्न माग राखेपछि तनाव भएको हो ।
बैठकमा चर्को माग भएपछि महासचिव रामबहादुर थापाले हस्ताक्षर अभियानमा सहभागी ७४ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । वैद्य-भट्टराई गठबन्धनमा मिसिएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर छैन ।
केन्द्रीय समितिमा हाल एक सय ४७ केन्द्रीय सदस्य छन् । केन्द्रीय सदस्य गौरीशंकर खड्काको मृत्यु भइसकेको छ भने कालीबहादुर खाम र रामप्रसाद बञ्जाडे निलम्बित छन् ।
एक केन्द्रीय सदस्यका अनुसार दाहाल पक्षीय पोलिटब्युरो जनार्दन शर्माले हस्ताक्षर अभियानबारे बताउन बैठकमा माग गरेका थिए । त्यसपछि थापाले हस्ताक्षर गर्नुको औचित्य उल्लेख भएको बेहोरा र केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । 'हस्ताक्षर गर्नुको औचित्यमा वैज्ञानिक कार्यविभाजनको माग हुनुपर्ने, पार्टीर् सामूहिक नेतृत्वमा जानुपर्ने उल्लेख छ,' पोलिटब्युरो सदस्य धर्मेन्द बाँस्तोलाले कान्तिपुरसँग भने, 'त्यसपछि महासचिव बादल (थापा) ले हस्ताक्षर गरेका ७४ केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको भयो ।' बैठकमा दाहालले हस्ताक्षरको विषय नउठाउन आग्रह गरेको एक केन्द्रीय सदस्यले जनाए । वैद्य, भट्टराई र थापा पक्षले केन्द्रीय कमिटीमा बहुमत पुगेको औपचारिक रूपमा केन्द्रीय कार्यालयलाई जानकारी भएको दाबी गरे पनि दाहाल पक्षले दुई निलम्बित केन्द्रीय सदस्य गणना हुने भन्दै आफ्नै पक्षमा बहुमत पुगेको जिकिर गरेका छन् ।
थापाले हस्ताक्षर गर्ने नेताको नामवली पढेर सुनाएलगत्तै दाहाल पक्षीय स्थायी समिति सदस्य वर्षमान पुनले कडा आपत्ति जनाएका थिए । 'यो हस्ताक्षर अभियान अराजकतावादी, बुर्जुवा, गैरराजनीतिक कार्यशैली हो,' पुनले भने, 'म यस्तो कार्यशैलीप्रति असहमति जनाउँदै केन्द्रीय कार्यालयमा दर्ज गराउन चाहन्छु ।' उनलाई पोलिटब्युरो सदस्य शर्मा, केन्द्रीय सदस्य महेश्वर गहतराजलगायतले समर्थन गरेका थिए । गहतराजले कन्द्रीय सदस्यहरूलाई अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन गरी जबरजस्त हस्ताक्षर गराएको आरोप लगाएका थिए । त्यसपछि उपाध्यक्ष बाबुराम भट्टराईले हस्ताक्षर अभियान सामूहिक नेतृत्व प्रणालीका लागि गरिएकोे भन्दै यो कसैका विरुद्ध लक्षित नभएको जनाएका थिए । सचिव सीपी गजुरेलले केन्द्रीय सदस्यको मागअनुसार हस्ताक्षरको सूची बैठकमा प्रस्तुत भएको जनाए ।

Source:kantipurnews

Posted by Butwalonline on 8:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादीमा हस्ताक्षर प्रकरणले तनाव"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु