|

मुख्य बजारमै शृंखलाबद्ध डकैती


कास्की, श्रावण ८ - पोखराको मुख्य बजारमा पेस्तोलसहितका नकाबधारीले शृंखलाबद्ध डकैती गरेका छन् ।
पोखरा १४ चाउथेमा पेस्तोल र खुकुरी बोकेका डाँकाले दिनहुँजसो लुटपाट मच्चाएपछि स्थानीय बासिन्दा त्रसित छन् । सुरक्षा माग गर्दै प्रशासन र अञ्चल प्रहरी कार्यालयमा गएकै राति डकैत समूहले घरभित्रै पसेर ६१ वर्षीय रत्नबहादुर घताने (विक) लाई गोली प्रहार गरी घाइते बनाएपछि स्थानीय बासिन्दा आतंकित भएका हुन् ।
राति २ बजे घरमा प्रवेश गरी घतानेलाई पेस्तोल प्रहार गरेर चार तोला सुन, नगद तथा मोबाइल लुटेका हुन् । 'म नछलिएको भए मलाई सिध्याउँथे,' पूर्वभारतीय सैनिकसमेत रहेका विकले भने, 'ढोका हानेपछि खोलेर हेर्दा एक्कासि डाँकाले आक्रमण गरे ।' कोठामा श्रीमती र एक नातिनी रहेका थिए । उनका तीन छोरा रोजगारका सिलसिलामा काठमाडौंमा छन् ।
घाइते उनको मणिपाल अस्पतालमा उपचारपछि थप उपचारका लागि शनिबार हेलिकप्टरबाट काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा लगिएको छ । हातमा लगाएको औंठी र श्रीमतीको सिक्री खोसेर हिँड्न लागेका लुटेरा चिन्न तान्ने क्रममा ढोकामा रहेको अर्को व्यक्तिले गोली प्रहार गरेपछि विक ढोकामा ढलेका थिए ।
घरको सबैभन्दा माथिल्लो तलामा बस्ने घरधनी विकलाई गोली हान्नु अगाडि भुइँतलामा डेरा गरी बस्ने मञ्जु रानाको ढोका फोरेर बहिनी अन्नु थापालाई आवाज निकालेमा मारिदिने धम्की दिँदै पेस्तोल ताकेको पीडितले बताइन् । बीच तलामा बस्ने १५ वर्षका कृष्ण विकलाई समेत रड प्रहार गरी हल्ला गरेमा सिध्याउने धम्की दिएका थिए ।
प्रहरी प्रशासनले शान्तिसुरक्षा दिन नसकेको भन्दै स्थानीय बासिन्दाले रातभर जाग्राम बसेर आफनो जीउधनको सुरक्षा गर्ने गरेको बताए । 'पटकपटक हतियार देखाएर लुटपाट गर्न आउने डकैतबारे जानकारी गराउँदासमेत प्रहरी घटना घटेको दुई घन्टापछि आउने गरेका छन्,' स्थानीय मीना अधिकारीले भनिन्, 'यसरी हामी सर्वसाधारणको जीउधनको सुरक्षा कसरी हुन्छ ?'
यसअघि शुक्रबार राति २ बजे सोही स्थानका महेश भण्डारीको घरमा समेत लुटपाट प्रयास गरेका थिए । डाँकाहरू भण्डारीको घरमा पालेको कुकुरलाई बेहोस बनाएर भित्र प्रवेश गर्न लाग्दा होहल्ला गरेपछि भागेका थिए । नेपाल पत्रकार महासंघ जिल्ला समिति सदस्यसमेत रहेका भण्डारीले डकैतलाई देखेपछि पुलिसलाई बोलाइदिन्छु भनेपछि फरार भएका थिए ।
मुख्य बजारमा दिनदिनै शृंखलाबद्ध डकैत घटना बढेको भन्दै सर्वसाधारण आक्रोशित भएपछि गस्ती बढाएको प्रहरीले जनाएको छ । घटनाको राति ६१ जना प्रहरी उक्त स्थानमा परिचालन गरेको दाबी गरे पनि अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन ।

Source:Kantipurnews

Posted by Butwalonline on 8:18 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुख्य बजारमै शृंखलाबद्ध डकैती"

Leave a reply