|

बोक्सी लागेको भन्दै गाला डामियो

अमर खड्का, इटहरी, असार २- बोक्सी लागेको भन्दै गाउँलेले एक महिलालाई पन्यु तताएर दुवै गालामा डामेका छन्। सुनसरीको भादगाउँ सिनुवारी-५ की २९ वर्षीया पुरनीदेवी चौधरीलाई स्थानीय धामी हरिनारायण दनुवारको निर्देशनमा डामिएको उनका पति देवनारायणले बताए।
शरीर काम्ने, बरबराउने, बेहोस हुने र हातखुट्टा फ्याँक्ने बिरामीले सताएपछि पुरनीदेवीलाई दुई महिनाअघि हरिनारायणले नै झारफुक गर्दै आएका थिए। 'श्रीमतीलाई दुई दिनअघि बिरामीले निकै च्यापेपछि धामी ल्याएँ,' उनले भने, 'धामीले बिरामीको गाला डाम्दा बोक्सीलाई चिनो लाग्ने र चिन्न सजिलो हुन्छ भने।'
छिमेकी रामचन्द्र सिंहसहित केही गाउँलेको उक्साहटमा लागेर गालामा डामिएको देवनारायणले बताए। 'मेरो श्रीमान् धेरै सिधा हुनुहुन्छ, जसले जे भन्यो,त्यही मान्नु हुन्छ,' पुरनीदेवीले भनिन्, 'अहिले यस्तो हालत भयो।'दयनीय आर्थिक अवस्थाकी पुरनीदेवी दिनरात रोएर बसेकी छन्। एभरेस्ट भिनियर उद्योगमा मजदुरी गरी परिवार पाल्दै आएका देवनारायणले पैसाको अभावमा श्रीमतीलाई उपचार गराउन लान नपाएको गुनासो गरे।
अधिकारकर्मी कविता सुब्बाले केही छिमेकीले उक्साएको भरमा बोक्सी हुन्छ भन्ने अन्धविश्वासमा परेकाले पुरनीले चरम यातना सहनुपरेको बताइन्। अशक्त अवस्थाका धामी दनुवारले रातको समयमा नजाने बताउँदा पनि जबर्जस्ती लगेर झारफुक गर्ने क्रममा गाउँलेले पन्युले डामेको स्वीकारे। 'मेरो असहमति हुँदाहुँदै गाउँलेले जबर्जस्ती डामे,' उनले भने, 'चार/पाँच जना गाउँलेले समातेर डामेका हुन्।'

इलाका प्रहरी कार्यालय पकलीले घटनाको अनौपचारिक जानकारी पाए पनि अहिलेसम्म कसैले उजुरी नगरेकाले दोषीलाई कारबाही गर्न नसकेको जनाएको छ।
Source:NagarikNews

Posted by Butwalonline on 7:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बोक्सी लागेको भन्दै गाला डामियो"

Leave a reply