|

तुइन खस्दा बेपत्ता भएका पाँच अझै भेटिएन

घ्याल्चोक (गोरखा) , अषाढ १४ - पृथ्वी राजमार्ग र घ्याल्चोक-९ चाइनाघाटस्थित खस्टारगाउँ जोड्ने तुइनको सोमबार खाबो चिरिएर लठ्ठा त्रिशूली नदीमा खस्दा बेपत्ता पाँच जनाको खोजी कार्य जारी रहेपनि अझै फेला परेको छैन ।
बेपत्ता हुनेमा घ्याल्चोकका रञ्जित गैरे, मिश्रा श्रेष्ठ, रामकुमार श्रेष्ठ, अमृतलाल श्रेष्ठ र चितवनका राजु सिलवाल छन् । प्रहरी निरीक्षक कमलप्रसाद गिरीका अनुसार तुइनमा सवार १० मध्ये ५ जना सकुशल छन् । १२ वषर्ीय सुरज थापा पौडिएर उत्रिए भने अन्य ४ जना तुइनमा अड्किएका थिए ।
तुइनको लठ्ठा अड्याउन प्रयोग गरिएको खम्बाको बीच भाग चिरिएर डब्बा नदीमा खसेको घाइते सुरज खड्काले बताए ।
'नदीमा डब्बा पहिलोपल्ट डुबेर माथि आई पुनः तल झर्दा पाँच जना एकै पटक नदीमा खसे,' श्रीमतीसहित सकुशल रहेका उनले घटनास्थलमा भने, 'हामी चार जना कोर्के -तुइनको डब्बा) मा अडकएर जोगियौं ।' २०२५ सालमा चीन सरकारले पृथ्वी राजमार्ग बनाउने क्रममा सामान बोक्न बनाएको जीर्ण तुइनमा गाउँलेहरूले १४ जनासम्म बसेर जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । जीर्ण तुइनको मर्मत र झोलुङ्गेपुल बनाउन उनीहरूले पटक-पटक माग गर्दै आएका थिए । सोमबारै पनि एमाले गोरखाका अध्यक्ष रामशरण बस्नेतसहित १४ जनाको टोली स्थानीय विकास मन्त्रालयमा डेलिगेसन गएको थियो ।
तुइनमा चढ्नेमा आठ जना तरकारी लिएर हिँडेका यात्रु थिए । सिलवाल बैनीको घरबाट आफ्नो घर चितवनतर्फ फर्केका थिए । अमृतलाल भने धान खेतमा हाल्न राजमार्गमा मल किन्न हिँडेका थिए । बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक गिरीले बताए । घटनास्थलको माओवादीका चार सभासदले निरीक्षण गरेका छन् । बेपत्ता खोजीका लागि धादिङ र गोरखाका दुई प्रहरी निरीक्षकको कमान्डमा प्रहरीहरू खटिएका छन् ।
घटनापछि स्थानीयवासीले पृथ्वी राजमार्गको बेनीघाटमा तीन घन्टा यातायात बन्द गरे । गोरखाका प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद वाग्ले, स्थानीय विकास अधिकारी तिलक पौडेलले आउँदो वर्ष झोलुङ्गे पुल बनाउन सुरु गर्ने प्रतिबद्धता जनाएपछि साँझ छ बजेबाट सडक खुलेको
थियो । उक्त प्रतिबद्धता जनाउनै आफूहरू घटनास्थल पुगेको प्रजिअ वाग्लेले बताए । 'पटक-पटक मर्मत र झोलुङ्गे पुलका लागि स्थानीयहरूले माग गरे तापनि प्राविधिक कारण काम सुरु गर्न सकिएको थिएन,' मर्मत प्रक्रियामा रहेको दाबी गर्दै वाग्लेले भने, 'स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले सोमबार मात्र झोलुङ्गे पुलका लागि स्वीकृति दिएको छ । यो वर्षबाट काम सुरु हुन्छ ।'
२०५० मा नदीले तुइनको खम्बा बगाएपछि स्थानीय बासिन्दाले मर्मत गरेका थिए । त्यसयता कुनै मर्मत नभएको उनीहरूले बताए । जिविस र तीन राजनीतिक दलका प्रमुखलाई तुइन मर्मत र झोलुङ्गे पुलका लागि पटक-पटक माग गर्दा सुनुवाइ नगरेको स्थानीय भूमि रेग्मीले बताए । 'पुल स्वीकृत नहुने भएपछि सरोकारवाला निकायलाई केही अघि तुइन चढाएर गाउँ लगेका थियौं,' उनले भने, 'सोमबार नै पनि डेलिगेसन लिएर मन्त्रालयमा पुगेको पाँच मिनेट बित्न नपाउँदै घटना भएको सुनेपछि फर्किएर आयौं ।'
घटनाको खबरपछि मन्त्रालयले आगामी वर्ष पुल बनाउन जिविसलाई स्वीकृति दिएको स्थानीय विकास अधिकारी पौडेलले बताए । 'एक सय बीस मिटरभन्दा लामो झोलुङ्गे पुल बनाउन मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ,' उनले भने, 'अब मन्त्रालयले स्वीकृति दिएको छ । साधनस्रोत हामीले जुटाएर पुल बनाउने छौं ।' उक्त तुइनबाट दुई सय परिवार ओहोरदोहोर गर्ने गर्थे । त्यसको विकल्पमा एक घन्टा टाढाको झोलुङ्गे पुल धाउनुपर्छ । २०५६ मा तुइन दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको थियो । तुइन बनेयता अहिलेसम्म आधा दर्जनभन्दा बढीको मृत्यु भएको स्थानीय बासिन्दाहरूले बताए । वषौर्ंदेखि यो तुइन चढ्दै आएका अधिकांश घाइते छन् । एक दर्जनभन्दा बढी अंगभंगको अवस्थामा रहेको अमरबहादुर खड्काले बताए ।


Source:KantipurNews

Posted by Butwalonline on 7:33 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तुइन खस्दा बेपत्ता भएका पाँच अझै भेटिएन"

Leave a reply