सभापतिको अनुपस्थितिमा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
११ असार, काठमाडौँ । पार्टी सभापति अमेरिका भ्रमणमा रहेका वेला नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।सभापति कोइरालाको अनुपस्थितिमा उपसभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बस्न लागेको बैठकले सेना समायोजनसम्बन्धी विषयमा टुंगो लगाउने बताइएको छ । एक केन्द्रीय सदस्यका अनुसार शान्ति र संविधानका बारेमा छालफल गर्न भन्दै बैठक डाकिएको हो । स्रोतका अनुसार सभापति कोइरालाले अमेरिका प्रस्थान गर्नुपूर्व आफ्नो अनुपस्थितिमा पनि बैठक बसेर विषय टुंगो लगाउन अनुमति दिएको कांग्रेसका एक नेताले बताए ।सुडान प्रकरणमा कृष्णप्रसाद सिटौला र सुजाताका ज्वाइँ रुबेल चौधरीको नाम मुछिएपछि अहिले कांग्रेसभित्र विवाद चर्किएको छ । गगन थापा, आनन्दप्रसाद ढुंगानालगायतले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने सार्वजनिक प्रतिक्रिया दिएपछि सिटौला र सुजाता कोइराला आक्रोशित बनेका छन् । तर, सभापति कोइरालाको अनुस्थितिमा बस्ने शनिबारको बैठक यो विवादमा प्रवेश नगर्ने कांग्रेस स्रोतले बतायो ।उता स्वास्थोपचारका लागि भान्जा रमेश भण्डारीलाई लिएर आइतबार अमेरिका लागेका कांग्रेस सभापति कोइराला शनिबार नेपाली जनसम्पर्क समिति भर्जिनीया च्याप्टरद्वारा ‘जर्ज म्यासन रेजिनल लाइब्रेरी’ मा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदैछन् ।
Source:Onlinekhabar