असार १,२ र ३ गते नेपाल बन्दको घोषणा
२९ जेठ, काठमाडौं । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालको बाबु थापा समूहले विभिन्न माग राख्दै आगामी असार १,२ र ३ गते नेपाल बन्दको घोषणा गरेको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी चुरे भावरले तेह्र सुत्रीय माग अगाडि सार्दै आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा महासचिव बद्री न्यौपानेले पार्टीले जेठ २७ सम्मको अल्टिमेटम सहित सरकारलाई बुझाएको ज्ञापनपत्र प्रति सरकार र संविधानसभाले बेवास्ता गरेकोका कारण माग पुरा गराउन दवाव स्वरुप बन्दको घोषणा गर्नु परेको जानकारी दिनुभयो ।
चुरे भावरले केशव मैनालीलाई सभासदबाट हटाउने पर्ने, नेपाल र नेपालीको अस्तित्व रक्षा, राष्ट्र, राष्ट्रिय एकता तथा अखण्डता एवम् सार्वभौमिकता अक्षुण राख्न जातीय संघीयता हनु नहुने, नागरिक समाज सम्मिलित सहमतिको सरकार गठन र सरकार र चुरेभावर पार्टीविच भएको २०६४ साल भदौ २७ गते भएको ९ बुँदे सहमति तत्काल कार्यान्वयन हुनु पर्ने माग अगाडि सारेको छ ।
चुरे भावरले पार्टीको साधारण सदस्यबाट निस्कासित सभासद केशब मैनाली कायम नरहेको भनि सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गरिसक्दा समेत संविधानसभाका अध्यक्ष र सरकारले उनलाई नहटाएकोले पनि आन्दोलन गर्नु परेको बताइको छ ।
Source:onlinekhabar
