पत्रकारहरुको अवस्था युद्धकालमा भन्दा पनि खतरनाक
२९ जेठ, काठमाडौं । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणकारीलाई कुनै हालतमा छाडिन्न । उनीहरुलाई कस्ले राजनीतिक संरक्षण दिइरहेको छ भन्ने हामीलाई थाहा भइसकेको छ–गृहमन्त्री
अहिले पत्रकारहरुको अवस्था युद्धकालमा भन्दा पनि खतरनाक छ । पत्रकार ढकालमाथि आक्रमण गर्नेलाई कारवाही गर्न आवश्यक परे मन्त्री परिषद्मै प्रस्ताव लान्छु– सञ्चारमन्त्री
माओवादीबाट मन्त्री बनेका गृहमन्त्री कृष्णबहादुर महरा र सञ्चारमन्त्री अग्नि सापकोटाको यी अभिव्यक्तिलाई हेर्दा प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाप्रति संवेदनशील माओवादी जति अरु कोहि छैन भन्ने भान हुन्छ । उनीहरु मात्र होइन, आज भोलि कुनै मञ्च पायो कि माओवादी नेताहरु पत्रकार ढकालमाथि भएको आक्रमणलाई आफ्नो सम्वोधनमा छुटाउँदैनन् र कारवाही गर्नु पर्ने माग गर्छन ।
विगतका वर्षहरुमा माओवादीका कार्यकर्ताले पत्रकार वीरेन्द्र साह लगायत सञ्चारकर्मी र सञ्चार माध्यमहरुमाथि आक्रमण गर्दा एमाले र उसका नेताहरुले पनि यस्तै भन्ने गर्थे । उनीहरु कुनै पनि हालतमा दोषीमाथि कारवाही गर्नु पर्नेमा जोड दिन्थे । तर अहिले ठाउँ फेरियो । हिजो वीरेन्द्र साहका अपराधिलाई राजनीतिक संरक्षण दिएको भन्दै चर्को स्वरमा नारावाजी गर्ने एमाले नेता कार्यकर्ता अहिले खिलनाथमाथि भएको आक्रमणबारे मौन छन् । पुरानो युथफोर्स अर्थात अहिलेको युवासंघ नेपालका अध्यक्ष महेश बस्नेत खुलेआम आक्रमणकारी आफ्नो संरक्षणमा रहेको स्वीकार्छन् । तर, उनलाई आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारलाई सुम्पनेबारे एमाले नेता बोल्दैनन् ।
सरकारमा रहेका माओवादी र एमाले पत्रकार तथा सञ्चार माध्यमहरुमाथि भएको आक्रमणकारीलाई कारवाही गर्नेतर्फ भन्दा पनि यसलाई राजनीतिक सौदावाजीको विषय बनाइरहेका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले पनि पत्रकारहरुमाथि भएको आक्रमणका विषयलाई सरकारमा रहेको एमाले र माओवादीले राजनीतिक सौदावाजी गरेको स्वीकार गर्छन । ‘एमाले सत्ताको नेतृत्व गरिरहेको छ, उसले पत्रकारमाथि आक्रमण गर्ने आफ्नो कार्यकर्तालाई कारवाही गरेको छैन । माओवादीसँग गृह मन्त्रालय छ, उ दोषीलाई पक्राउ गर्नेको सट्टा राजनीतिक सौदावादीको विषय बनाएको छ’ उहाँले भन्नुभयो–‘पत्रकारमाथि भएको कुटपिटलाई पनि राजनीतिक खेल बनाउन खोजिएको छ । यो जग हँसाई हो । यसप्रति हामीलाई केहि भन्नु छैन ।’
यसैगरी पत्रकार महासंघका पूर्व अध्यक्ष धमन्द्र झाले पनि घटनालाई राजनीतिक आग्रह पूर्वाग्रह राखेर आरोप प्रत्यारोपमा उत्रनु भन्दा दोषीलाई कारवाही गर्नु पर्नेमा जोड दिए । उनले भने–‘घटनाका विषयलाई लिएर कुनै आग्रह पूर्वाग्रह राखेर हेर्नु भन्दा पनि जो सुकै भएपनि दोषीमाथि कारवाही गर्न लाग्नुपर्छ ।’
Source:onlinekhabar
