|

कर्मचारीले चोरे करोडौंका पार्टपुर्जा

काठमाडौं,
नेपाल वायुसेवा निगमका कर्मचारीकै संलग्नतामा विमानका पाटपुर्जा चोरी भएको रहस्य खुलेको छ । जहाजका करिब ६ करोड रुपैयाँ मूल्य पर्ने पार्टपुर्जा चोरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित इन्जिनियरिङ विभाग र व्यवस्थापन अधिकारी जिम्मेवार रहेको प्रतिवेदन जाँचबुझ समितिले बुझाएको छ ।

विमानस्थल हाताभित्र सर्वसाधारणको पहुँच नहुनु, सामान्य कर्मचारीलाई जहाजका पार्टपुर्जाबारे जानकारी नहुनु तथा जहाज चेकजाँचमा इन्जिनियर र कर्मचारीको लापरबाही हुनुले पार्टपुर्जा चोरी हुने गरेको समितिको भनाइ छ ।

दुई महिनाअघि ग्राउन्डेड भएको निगमको ९ एन एसीए जहाजबाट पार्टपुर्जासहितको ‘एफएके’ (फ्लाइट अल्वेज किट) बक्स चोरी भएको थियो । १८५ किलोभन्दा बढी तौलका ती पार्टपुर्जाको मूल्य ६ करोड रुपैयाँ पर्ने प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये ५ करोडको एफएके तथा १ करोडका अन्य पार्टपुर्जा थिए । यो जहाजको कार्गो कम्पार्टमेन्टको अग्रस्थानमा रहन्छ ।

पार्टपुर्जा चोरीबारे छानबिन गर्न मन्त्रालयकी उपसचिव प्रभा वैद्यको संयोजकत्वमा गठित चार सदस्यीय जाँचबुझ समितिले आइतबार आइतबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव रञ्जनकृष्ण अर्याललाई प्रतिवेदन बुझाएको हो । अर्यालले पर्यटनमन्त्री खड्कबहादुर विश्वकर्मालाई जानकारी गराएपछि मात्र प्रतिवेदन सार्वजनिक गरिने बताए । समितिमा निगमका इन्जिनियर पोषक ज्ञवाली, नागरिक उड्डयन प्राधिकरणबाट गणेश चन्द र भेषराज सुवेदी सदस्य थिए ।

“विमानका पार्टपुर्जासम्म जोसुकैको पहुँच हुँदैन, सम्बन्धित प्राविधिज्ञ र निगमका व्यवस्थापन उच्च अधिकारीको मिलेमतोमा यस्तो कार्य भएको हाम्रो निष्कर्ष छ,” समितिका एक सदस्यले भने ।

उनका अनुसार गत फागुन ६ गते जहाज चेकजाँच गर्दा ती पार्टपुर्जा जहाजमै थिए । तर, ८ गते पुनः जाँच गर्दा जहाजबाट ती सामग्री गायब थिए । यो बीचमा जहाजले काठमाडौंबाट हङकङ र क्वालालम्पुर उडान भरेको थियो ।

जाँचबुझका क्रममा समितिले दिल्ली, हङकङ, बैंककलगायतका सात वटा अन्तर्राष्ट्रिय गन्तव्यमा फ्क्यासमार्फत पत्राचार गरी जवाफ मागेको थियो । “पत्राचार ग¥यौं, उनीहरुले आफूहरुसँग नभएको जानकारी दिए,” समितिका अर्का एक सदस्यले भने ।

उनका अनुसार जहाजको अन्तर्राष्ट्रिय ट्रान्जिट चेकमा हस्ताक्षर नभएको, जहाजको मेन्टिनेन्स दस्तावेजमा सही ढंगले चेकजाँच नभएको र प्राविधिज्ञ र व्यवस्थापन अधिकारीको कामगराइमा व्यापक त्रुटि भेटिएकाले पार्टपुर्जा चोरीमा कर्मचारीकै संलग्नता भएको ठहर गरिएको हो । समितिले निगमका प्राविधिज्ञसँग बयान लिनुका साथै विमानस्थल हाताभित्र कार्गो भवनलगायतका क्षेत्रमा खोजबिन गरेको प्रतिवेदनमा उल्लेख छ ।

ती पार्टपुर्जा विदेश निर्यात भई बिक्री हुनसक्ने भएकाले पार्टपुर्जा सप्लायर्स तथा कम्पनीलाई त्यसबारे जानकारी गराउन निगमालाई जाँचबुझ समितिले निर्देशन दिए पनि हालसम्म त्यसबारे प्रक्रिया अघि नबढेको ती सदस्यले बताए ।

KarobarDaily

Posted by Butwalonline on 9:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कर्मचारीले चोरे करोडौंका पार्टपुर्जा"

Leave a reply