|

कसैले माग्दैमा राजीनामा दिन्नः प्रधानमन्त्री

२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री झलनाथ खनालले कसैले माग्दैमा आफूले पदबाट राजीनामा नदिने बताउनु भएको छ ।

टर्कीको स्तानबुलमा जारी विश्वका अतिकम विकसित मुलुकहरुको संगठन -एलडिसी) को चौथो विश्व शिखर सम्मेलनमा भाग लिएर स्वदेश फर्किएलगत्तै आज बिहान अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले आफ्नो राजीनामा माग्नेहरु संविधान विरोधी भएको आरोप लगाउनु भयो ।

प्रधानमन्त्रीकै पार्टी एमालेका बरिष्ठ नेता माधव नेपाल र केपी ओलीले सरकार असफल भएकाले विकल्प खोज्नु पर्ने भन्दै कसरत तीव्र पारिरहेका बेला उहाँको यस्तो भनाई बाहिर आएको हो ।

संविधान लेखन र शान्तिप्रक्रिया टुङगोमा पुर्‍याउने मिसनसहित आफू प्रधानमन्त्री बनेको भन्दै खनालले उक्त मिसन विचैमा छोडेर राजीनामा नदिने दृढता व्यक्त गर्नुभयो ।

खनालले आफ्नै नेतृत्वको सरकारले संविधान लेखन र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने जिकिर गर्दै दायित्व पूरा गरेपछि मात्र पदबाट हट्ने दावी गर्नुभयो ।बोल्ने अधिकार सबैलाई भएको भन्दै प्रधानमन्त्रीले आफ्नो राजीनामा मग्नेहरुले पनि बोल्ने अधिकार प्रयोग गरेको टिप्पणी गर्नुभयो । आफू विदेश भ्रमणमा रहँदा सरकार परिवर्तन हल्ला चलाइएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनु भयो ।

बदलिँदो देशको परिस्थितिमा आफ्नो उपस्थिति बढी आवस्यक ठानेर भ्रमण छ्ट्याएर स्वदेश फर्किएको प्रधानमन्त्रीको भनाई थियो ।

पत्रकारहरुको एक जिज्ञाशाको जवाफमा प्रधानमन्त्री खनालले संविधानसभाको बाँकी १५ दिनको अवधिलाई सक्दो उपयोग गर्ने जानकारी दिनुभयो ।

आफूले संधै राष्ट्रिय सहमतिलाई प्रमुखता दिएको भन्दै खनालले त्यसको प्रयास जारी रहेको बताउनु भयो ।

नेपाली कांग्रेस म्याद पथका लागि सहमत हुन्छ त भन्ने प्रश्नमा खनालले कांग्रेस प्रजातान्त्रिक शक्ति भएकाले सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रसंघ सम्वद्ध विश्वका अतिकम विकसित ४८ मुलुकहरुको संगठन (एलडिसी ) को टर्कीको स्तानबुलमा जारी चौथौ विश्व शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्ती खनाल गत शुक्रबार त्यसतर्फ प्रस्थान गर्नु भएको थियो ।

यसअघि उहाँको भ्रमण १० दिनको हुने बताइएको थियो ।

खनाल विदेश भ्रमणमा रहेका बेला एमालेको नेपाल-ओली समूह र कांग्रेस नेताहरु सरकार ढाल्ने कसरतमा जुटेपछि खनाल एलडिसी सम्मेलन विचैमा छोडेर हतारहतार र्फकनु भएको हो ।

प्रधानमन्त्री खनाललाई स्वागत गर्न उप-प्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले अन्र्तराष्ट्रिय बिमानस्थलमा स्वागत गर्नुभएको थियो ।

स्तानबुलमा रहँदा प्रधानमन्त्रीले एलडिसीको अध्यक्षका हैशियतमा सम्मेलनलाई सम्वोधन गर्नुका साथै संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन लगायत थुप्र्रै विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो ।

खनाल फर्किएपनि उप-प्रधान एवम् परराष्ट्र मन्त्री उपेन्द्र यादव लगायतको टोली भने सम्मेलन सकिएपछि मात्रै र्फकने कार्यक्रम छ ।

Onlinekhabar

Posted by Butwalonline on 10:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कसैले माग्दैमा राजीनामा दिन्नः प्रधानमन्त्री"

Leave a reply