|

अन्तिम दिन बैठकै बैठक

१४ जेठ, काठमाडौँ । संविधानसभाको पछिल्लो पटक एक वर्ष अघि थपिएको समयको अन्तिम दिन आज म्याद थपका लागि दलहरु अन्तिम कसरतमा जुटेका छन् ।
आज बिहानैदेखि प्रमुख दलहरुले आन्तरिक तथा द्वीपक्षीय छलफललाई तीव्रता दिँदैछन् । संविधानसभाको म्याद थपबारे अन्तिम धारणा तय गर्न एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक बसेको छ ।
अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ को नयाँबजारस्थित निवासमा बिहानैदेखि जारी बैठकमा म्यादथपका लागि कांग्रेसले अगाडि सारेको नयाँ प्रस्तावका बारेमा छलफल भइरहेको बुझिएको छ ।
म्याद थपमा सहमति जुटाउन हिजो दुई चरणमा बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेसले संविधानसभाको कार्यकाल दुई पटक गरेर थप्न सकिने प्रस्ताव ल्याएको थियो ।
पहिलो पटक तीन महिना थपिएको अवधिमा शान्ति प्रक्रिया टुङ्गो लगाउने र देस्रो तीन महिनामा संविधान लेखनको कार्य सकिने गरी म्याद थप्नुपर्ने कांग्रेसको प्रस्ताव छ ।
तर, माओवादी सेनाका लडाकुहरु त्यस अघि नै हतियार हतियारबाट अगल हुनुपर्ने कांग्रेस अडान भने कायमै छ । माओवादी स्थायी समितिमा बिहान ११ बजे बस्ने प्रमुख तीन दल बैठकमा सहमतिको लिखित खाका पेश गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
यस्तै संविधानसभाको म्याद थपकै विषयमा केन्द्रीत रहेर छलफल गर्न आज बिहानै कांग्रेसले संसदीय दल र केन्द्रीय समिति बैठक डाकेको छ ।
नयाँबानेश्वरस्थित संविधानसभा भवनमा बिहान आठ बजेपछि सुरु भएको केन्द्रीय समितिको बैठकमा म्याद थपका लागि अघि सारेको १० बुँदै सर्तबाट पछि हट्न सक्ने वा नकस्ने भन्ने बारेमा केन्द्रीत रहेर छलफल हुने एक नेताले अनलाइनखवरलाई बताए ।
केन्द्रीय समिति बैठकलगत्तै संसदीयदलको बैठक बस्ने कांग्रेसले जनाएको छ । यस्तै संविधान संशोधन प्रस्ताव पारित गराउन खुल्ने भूमिकाको विषयमा छलफल गर्न सत्तारुढ एमालेको संसदीयदलको बैठक पनि बस्दै छ ।
बैठकमा माओवादी र कांग्रेसलाई मान्य हुने मध्यमार्गी समाधानको बाटो खोज्ने प्रयास हुने नेताहरुले बताएका छन् ।
सिंहदरबारस्थित संसदीयदलको कार्यालयमा बस्ने बैठकमा म्याद नथपिए उत्पन्न हुन सक्ने सम्भावित राजनीतिक परिदृष्यका बारेमासमेत छलफल हुने बताइएको छ ।
यस्तै नेपाली कांग्रेसको लगातारको अवरोधका कारण कार्यसूचिमा प्रवेशै नगरी स्थगित हुँदै आएको व्यवस्थापिका संसद बैठक बिहान आठ बजेका लागि पुनः बोलाइएको छ ।
आफ्नो दस बुँदे सर्त संसदमा पढेर सुनाउन पाउनुपर्ने अडान राख्दै कांग्रेसले लगातार बैठक अबरुद्ध गर्दै आएको छ । उसको कदममा मधेसवादीलगायत केही सानादलले पनि सघाउँदै आएका छन् ।
यसैगरी राजनीतिक गत्यावरोध तोड्ने विषयमा छलफल गर्न प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताको बिहान ११ बजे बस्ने छ ।

Source:onlinekhabar

Posted by Butwalonline on 10:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अन्तिम दिन बैठकै बैठक"

Leave a reply