|

चालकसहित मोटरसाइकलमा पेट्रोल छर्केर आगजनी

बुटवल, जेठ १० (नागरिक)- बन्दमा मोटरसाइकल चलाएको भन्दै मातृका माओवादीका कार्यकर्ताले बुटवलमा एक शिक्षकमाथि पेट्रोल छर्केर आगो लगाएका छन्। मोटरसाइकलमा पेट्रोल छर्कने क्रममा मोटरसाइकल चालक सञ्जय नापितमाथि पनि आन्दोलनकारीले पेट्रोल छर्केका हुन्।
पेट्रोल छर्केर घाइते भएका नापितको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा तथा दाँया हात जलेको छ।
रुपन्देहीको शंकरनगरबाट बुटवलको ट्राफिकचोकतर्फ आउँदै गरेका नापितलाई कालिकानगरमा चार युवाले मोटरसाइकल रोक्न लगाएर एक्कासी पेट्रोल छर्केका थिए। 'उनीहरुले मलाई मोटरसाइकलबाट झर्न पनि दिएनन्' घाइते नापितले भने, 'बन्द अवज्ञा गर्ने भन्दै एक्कासी पेट्रोल छर्के र सलाई कोरेर आगो लगाए।'
मोटरसाइकलसहित शरिरमा आगो लागेपछि चिच्याएका उनको शरीरको आगो स्थानीय बासिन्दाले पानी र बालुवाले छेपेर निभाइदिएका थिए।
ग्यालेनमा पेट्रोल लिएर बसेका युवालाई आफूले मोटरसाइकल रोकेर चापिँदा पनि उनीहरुले आक्रोशित हुँदै एक्कासी पेट्रोल छर्केर आगो लगाएको नापितले बताए। स्थानीय बासिन्दा र प्रहरीको सहयोगले ज्यान बचेको उनको भनाई छ।
लगत्तै घटनास्थल पुगेको प्रहरीले घाइते नापितलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल पुर्‍याएको थियो।
घाइतेको अवस्था खतरामुक्त रहेको र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ। नवलपरासीको रामग्राम नगरपालिकाका स्थायी बासिन्दा २५ वर्षीय नापित बुटवल एभिनेष्ट बोर्डिङ स्कुलका शिक्षक हुन्।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने रुपन्देहीको केरवानीका गोविन्द पंगेनी र टिकाराम भण्डारी हुन्।
यसैगरी घटनाको निन्दा गर्दै इन्सेक र उपभोक्ता हित संरक्षण मञ्चले विज्ञप्ती निकालेका छन्। उनीहरुले लगातारको बन्दले जनजीवन कष्टकर भएको जनाउँदै जिउँदै पेट्रोल छर्केर मान्छेमाथि आगो लगाउनु बर्बरतापूर्ण काम भएको भन्दै निन्दा गरेका छन्।

NagarikNews

Posted by Butwalonline on 4:44 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चालकसहित मोटरसाइकलमा पेट्रोल छर्केर आगजनी"

Leave a reply