|

संविधानसभाको भविष्य निर्धारण गर्न तीन दल असफल

काठमाडौं, जेष्ठ १३ - संविधानसभाको भविष्य निर्धारण गर्न म्याद सकिने अघिल्लो दिन शुक्रबार भएका पटक-पटकका शीर्ष बैठक पनि असफल भए । सिंहदरबारस्थित शान्ति मन्त्रालयमा बिहान र साँझ बसेका दुई बैठक पनि निष्कर्षविहीन सकिएका छन् ।
लडाकुलाई हतियारबाट अलग गर्नुपर्ने कांग्रेसको प्रस्ताव माओवादीले अस्वीकार गरेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । 'शान्ति प्रक्रियाको कार्यतालिका बनाएर कति सकिन्छ त्यति काम गरौं भन्ने प्रस्तावमा माओवादी तयार देखिएन,' बैठकपछि एमाले नेता भीम रावलले जानकारी दिए ।
माओवादीले भने लडाकु समायोजनको प्रक्रिया सुरु भएपछि हतियारको विषय पनि स्वतः समाप्त हुने जिकिर गरेको छ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको कार्यतालिका बनाएर अघि बढ्ने र राष्ट्रिय संयुक्त सरकारको प्रस्तावमा आफूहरु पछि नहटेको बताए । श्रेष्ठले लडाकु विशेष समिति मातहत आइसकेको अवस्थामा लडाकुलाई हतियारबाट अलग गरिहाल्नुपर्ने प्रस्ताव भने तर्कसंगत नभएको बताए ।
कांग्रेस नेता रामशरण महतले १० बुँदे प्रस्ताव नै आफ्नो दलको अन्तिम विकल्प भएको बताए । कांग्रेसले लडाकुलाई हतियारबाट अलग गरी शिविर संख्या घटाउनुपर्नेलगायतका माग राखेको छ ।
शान्ति प्रक्रिया कार्यान्वयन र संविधानको म्याद थप्न शान्ति मन्त्रालयमा बिहान बसेको बैठक प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताले स्थगित गरिएको थियो ।
कांग्रेसका सभापति सुशील कोइरालाले माओवादी इमान्दार र जिम्मेवार हुने भए सबै समस्याको समाधान हुने बताउँदै निस्किएका थिए । एमाले उपाध्यक्ष वामदेव गौतमले जेठ १४ अगावै हतियारको साँचो माओवादीले बुझाउनु पर्ने कांग्रेसको अडान र नमान्ने माओवादीको अडान कायमै रहेको बताएका थिए ।
नयाँ सरकार
बैठकमा प्रमुख दलहरु राष्ट्रिय सरकार बनाउनुपर्नेमा एकमत रहेको एमाले नेता केपी शर्मा ओलीले जानकारी दिए । 'संयुक्त सरकार त बन्नैपर्छ,' उनले भने, 'फेरि पनि कोही सत्तापक्ष र कोही प्रतिपक्ष अनी कोही अरुपक्ष भएर संविधान बन्दैन ।'
म्याद थप्न राति हुन्न
एमाले नेता ओलीले गत वर्षजस्तो सहमति हुन अबेर नहुने उल्लेख गरे । भोलि पनि मध्यराति नै सहमति भएर म्याद थपिन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'यसपटक त्यस्तो राति हुन्न ।'
पत्रकारसित जोगिन धौ-धौ
शान्ति मन्त्रालयमा दोस्रोपटक भएको बैठक पनि सहमतिमा नपुगेपछि नेताहरुलाई पत्रकारसित जोगिन धौ-धौ परेको थियो । तीनै दलका अध्यक्ष पनि सञ्चारकर्मीबाट तर्किए ।
माओवादी नेता नारायणकाजी श्रेष्ठले बोलिरहँदा प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल सुटुक्क आफ्नो सवारीमा चढेर बाहिरिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइराला पनि पत्रकारलाई प्रतिक्रिया नदिइ बाहिरिए ।
माओवादी नेता वर्षमान पुन 'अपडेट छैन' भन्दै बाहिरिए भने एमाले उपाध्यक्ष बामदेव गौतमले सञ्चारकर्मीसित कुरा गर्न मानेनन् ।
कान्तिपुर

Posted by Butwalonline on 7:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संविधानसभाको भविष्य निर्धारण गर्न तीन दल असफल"

Leave a reply