डोटी बस दुर्घटनामा मर्नेको संख्या १६ पुग्यो
२१ वैशाख, डोटी । धनगढीको अत्तरियाबाट अछामको साँफेबगरका लागि छुटेको यात्रुबस आज बिहान डोटीको काडामाडौं गाविसस्थित मेलगैरामा दुर्घटना हुँदा चालकसहित १६ को ज्यान गएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।
१४ जनाको घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक मध्ये बसचालक कैलाली मालाखेती-९ का बीरबहादुर विष्ट, सह-चालक बझाङ देउराका बिरु रावल र अछाम मार्कु-५ का डम्बर वोगटीको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।
खचाखच यात्रु बोकेरे अत्तरियाबाट साँफेबगर जाँदै गरेको ना४ख ४०१८ नम्बरको बस बिहान पौने चारबजेतिर चौखुट्टे बजार नजिकै सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र केसीले जनाकारी दिनुभयो ।
दुर्घटनाको कारण खुल्न सकेको छै्रन । घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्धारकार्य जारी राखेका छन् । घाइते मध्ये केहीको डोटी र केहीको अछाम जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
हिजोमात्र सिन्धुलीको भाँगाझोलीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।
Source:onlinekhabar