|

माओवादीबिरुद्ध चार लाख जनता सडकमा उतारिने

२४ चैत, काठमाडौं । बिहीबार काठमाण्डौंमा आयोजित सभासमा माओवादी अध्यक्ष प्रचण्डले यहि स्थीति जारी रहे मे १ बाट बिद्रोह थाल्ने चेतावनी दिइरहँदा त्यसलाई काउन्टर गर्न भन्दै नागरिक समाजको आबरणमा सेतो टिसर्टधारी शान्ति र्‍यालीको घोषणा गरिएको छ ।

एमाले नेता केपी शर्मा ओलीको उपस्थितिमा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राजधानी सहित ७० जिल्लामा र्‍यालीको आयोजना गर्न लागिएको जानकारी दिइयो । नागरिक समाज, ब्यबसायी र पेशाकर्मीले आगामी वैशाख १ गते देशभर शान्ति र्‍याली निकाल्ने अभियानका अगुवा सुबोधराज प्याकुरेलले जानकारी दिनुभयो ।

काठमाडौंमा भने शान्ति र्‍यालीसँगै वृहद् नागरिक यात्रा गरिनेछ । आयोजकहरुका अनुसार बैशाख १ गते देशैभर करिव ४ लाख जनता सडकमा उतारिने छ ।

र्‍यालीको नारा ‘शान्ति, सम्मान र सुरक्षाको लागि नागरिक यात्रा-२०६८’, ‘ध्वंस र हिंसा विरुद्ध निर्माण र स्वतन्त्रताका लागि शान्ति’ र ‘निर्धक्क भन्न-सुनाउन, सुन्न र ग्रहण गर्न शान्ति, लोकतान्त्रिक, प्रगतिशिल संविधान बनाउन शान्ति’ भन्ने तय गरिएको छ ।

र्‍यालीको मुख्य उदेश्य जेठ १४ पछि जनबिद्रोहको तयारी गरिरहेको माओवादीलाई जनता शान्तिको पक्षमा छन् भन्ने सन्देश दिनु भएको अभियान निकट स्रोतले बतायो । ‘अहिले पनि बेला-बेलामा माओवादीले विद्रोहको धम्की दिइरहेको छ’ अभियानमा जुटेका एकले अनलाइनखबरसँग भने-’हामी अहिले पनि जानता शान्ति र संविधानका पक्षमा छन् भनेर विद्रोह गर्न खोज्नेहरुलाई ‘थ्रेट’ दिने गरी प्रदर्शन गर्ने तयारीमा छौं ।’

र्‍यालीको संयोजनका लागि मानवअधिकारीवादी संस्था इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेल, पत्रकार कनकमणि दिक्षित, कलाकरहरु हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठ लगायत जुटेका छन् । र्‍यालीमा मुलुकभरका चार लाख मानिसलाई सहभागी गराउने लक्ष्य रहेको जनाइएको छ ।

अघिल्लो बर्ष माओवादीले आयोजना गरेको ६ दिने आम हड्ताल असफल पार्न निर्णायक भूमिका खेलेको बिश्वास गरिएको सेतो टिर्सटधारी अभियानले माओवादी बिद्रोहको तयारीलाई रोक्न भन्दै पुनः त्यस्तैखाले अभियान थालेको हो । नागरिक समाजको आबरणमा गरिएको यो प्रर्दशनमा योजनाकारमा एमालेको अनुदारवादी खेमा र नेपाली कांग्रेससँग निकटहरुको सहभागीता छ ।
Source:Onlinekhabar

Posted by Butwalonline on 6:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादीबिरुद्ध चार लाख जनता सडकमा उतारिने"

Leave a reply