महेन्द्र उच्च माविमा रिक्त प्रशासकीय सहायक नियुक्तिको विषयमा विवाद
बुटवल, २५ फागुन । कपिलवस्तुको कृष्णनगरस्थित महेन्द्र उच्च माविमा रिक्त प्रशासकीय सहायक नियुक्तिको विषयमा विवाद भएको छ । सो पदपूर्तिका लागि फागुन २० गते लिइएको परीक्षामा दीपेन्द्रकुमार चौधरीलाई नक्कल गर्न छुट दिएर धा“धली गरिएको अन्य १५ परीक्षार्थीले आरोप लगाएका छन् । दीपेन्द्र चौधरी विद्यालय व्यवस्थापन समिति र प्राचार्यको नजिकको मान्छे भएको अन्य परीक्षार्थीले बताएका छन् ।
परीक्षामा धा“धली गरिएको भन्दै सुरेन्द्रकुमार श्रीवास्तवसहित १५ जनाले सोही दिन जिल्ला शिक्षा कार्यालय कपिलवस्तुमा निवेदन दिएका थिए । शिक्षा कार्यालयले चासो नदिएको भन्दै श्रीवास्तवले पुनरावेदन अदालत बुटवलमा दायर गरेको उत्प्रेषणसहितको परमादेश रिटमा अदालतले छनौट प्रक्रिया रोक्न बिहीबार अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नीता गौतम दीक्षितको एकल इजलासले जिल्ला शिक्षा कार्यालय कपिलवस्तु, विद्यालय व्यवस्थापन समिति र प्राचार्य अनिलकुमार श्रीवास्तवमा नाममा जारी गरेको अन्तरिम आदेशमा नियुक्ति प्रक्रिया अघि नबढाउन भनिएको छ । निवेदकको तर्फबाट अधिवक्ता सूर्य श्रेष्ठ आजादले बहस गर्नुभएको थियो ।