|

मध्यविन्दु सामुदायिक अस्पताल बन्द हुने अबस्थामा

श्रीराम सिग्देल,नवलपरासी २२, फागुन-चरम आर्थिक समस्याका कारण समुदायद्वारा संचालित नवलपरासीकै ठूलो अस्पताल मध्यविन्दु सामुदायिक अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।
समुदायको पहलमा धान्याचल गरी २०६४ साल देखि डण्डामा संञ्चालनमा आएको अस्पताल पछिल्लो समयमा पर्याप्त आर्थिक श्रोत जुटाउन नसक्दा धरासायी वनेको हो । अस्पताल संञ्चालनका लागि स्रोत साधन जुटाउन शुरु देखिनै विभिन्न निकायमा धाउदा पनि असफल भएका कारण अस्पताल संञ्चालनमा समस्या आएको अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । अस्पतालले मासिक रुपमा साढे तीन लाख रुपैया घाटा वेहोर्दै आएको छ ।

मंगलवार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पताल संञ्चालन गर्दै आएको नेपाल मध्यविन्दु सामुदायिक स्मृती अस्पताल विकास केन्द्रका अध्यक्ष कृष्ण वहादुर वस्नेतले आफुहरु सरकारी उपेक्षाको शिकार भएको बताए । वन क्षेत्रको जग्गा अतिक्रमण गरि अस्पताल भवन बनाइए पनि अस्पतालले ओगटेको जमिनको भोगाधिकार सम्बन्धीत निकायवाट पाउन नसक्दा ठूलो समस्या परेको अध्यक्ष वस्नेतले वताए ।

अस्पताललाई सहयोग गर्न विभिन्न दातृनिकायहरुले चासो देखाए पनि जग्गा भोगाधिकार प्राप्ती हुन नसक्दा समस्या सिर्जना भएको उनले बताए । भोगाधिकारको लागि अस्पतालले सम्पूर्ण प्रकृयाहरु पूरा गरेको भए पनि सरकारले स्वीकृत नदिएको अस्पतालले जनाएको छ ।

जिल्लाको मध्य भागमा रहेको अस्पताल नवलपरासीको नै ठूलो अस्पताल हो । ५५ शैया रहेको अस्पतालले राजमार्गमा भएका दुर्घटनाहरुको प्राथमिक उपचारका साथै जिल्लाका ३७ गाविसका वासिन्दालाई स्वास्थ्य सेवा दिदै आएको अस्पतालले जनाएको छ ।

अस्पताललले महेन्द्र राजमार्ग संगै जोडिएको वन क्षेत्रमा पर्ने करिव १५ विगाहा जमिन ओगटेको छ र त्यसको भोगाधिकारको लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याड्ढन गर्नुका साथै राजनैतिक दलका नेता, मन्त्री देखि प्रधानमन्त्री सम्म हारगुहार गरे पनि अहिले सम्म कतैवाट सुनुवाई नभएको असपतालले जनाएको छ ।

राज्यले नागरिकको मागलाई सकारात्मक रुपमा लिन नसक्दा यस क्षेत्रकैं सबैं भन्दा ठुलो अस्पताल डुव्ने अबस्थामा पुगेको भन्दैं अस्पताल सञ्चालक समितिले चिन्ता व्यक्त गरेको छ । अस्पताल सञ्चालक समितिका सचिव महेन्द्र पोखरेलले सरकारले यो अस्पताललाई आफ्नो जिम्मामा लिएर उप जिल्ला अस्पतालको रुपमा अस्पताल सञ्चालन गर्नु सबैं भन्दा उत्तम विकल्प हुने बताए । उनले राज्यले नियमित अनुदान दिने व्यवस्था गर्न तथा बिषेषज्ञ डाक्टर पठाउने व्यवस्था गर्न राज्य संग माग गरे।

तीन जना एमविविएस डाक्टरहरुवाट नियमित स्वास्थ्य सेवा दिदै आएको अस्पतामा हाल प्रति दिन औषत ६० जना विरामीले उपचार सेवा लिने गरेको अस्पतालले जनाएके छ । सञ्चालनको शुरुका वर्षमा राम्रो अवस्थामा संचालन भए पनि पछिल्लो समयमा आर्थिक अभावमा सेवा कटौती र चिकित्सकको संख्या कटैती गर्नु परेको अस्पतालले जनाएको छ ।
६ बर्ष अगाडी अस्पताल सञ्चालनका लागि गरिएको महायज्ञमा करिव एक हजार ६ सय दाताबाट एक करोड ८१ लाख रुपैया संकलन भएको थियो । उक्त रकम मध्ये अझ सम्म पनि ५३ लाख रुपैंया भन्दा बढी उठ्न बाकी रहेको अस्पतालले जनाएको छ ।

Posted by Butwalonline on 3:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " मध्यविन्दु सामुदायिक अस्पताल बन्द हुने अबस्थामा"

Leave a reply