सरकार अराजकहरुको झुण्ड : अध्यक्ष यादव
कन्हई यादव,भैरहवा, माघ २६ / मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष तथा पूर्व उप प्रधान तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवले बर्तमान सरकार अराजक तत्व तथा अपराधीहरुको झुण्ड भएको दावी गरेका छन ।
मधेशी जनाधिकार फोरम नेपाल निकट मधेशी युवा फोरम नेपालको शुक्रबार भैरहवामा आयोजित तेश्रो राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै नेता यादवले तीन दलले संघियताको नाममा आश्वसन मात्र दिई मधेशी जनतालाई धोका दिएको आरोप लगाउदै एक मधेश एक प्रदेश नहुन दिनको लागी संविधान सभा षडयन्त्र पूर्वक भ· गरि सत्ता कब्जा गर्ने नियतले ती ठूला दलहरु संविधान सभाको चुनाव गराउन नचाहेको जिकिर गर्दै दुई सय पचास बर्ष देखि भोग गर्दै आएको जमिन्दारी ब्यावस्था धरापमा पर्ने डरले तीन ठूला दलले संविधान सभाको बिघटन गरेको दावी समेत गरे । भट्टराई सरकारले अपराधीहरुको संरक्षण गरि दण्डहिनतालाई आश्रय दिएको र अपराधीलाई कानूनी कार्यवाही गर्नुको सट्टा उनिहरुलाई जोगाउने खेलमा लागेको तथा सर्वसाधारणलाई कार्यकर्ता लगाई कुटने गरेको आरोप समेत लगाए ।
उनले राजनैतिक दलहरुको खिचलोको कारण देश गम्भिर राजनैतिक, आर्थिक तथा सामाजिक संकटमा फसेको गुनासो गर्दै मुलुक असफल राष्ट्रतर्फ उन्मुख हुदै गएको र यसलाई जोगाउन मधेशी जनताको काधमा ठूलो जिम्मेवारी आएको बताएका छन । मोर्चाको नाममा सरकारमा रहेका मधेशी दलहरु केही मन्त्रालयको लोभमा परि मधेशी जनतालाई घात गरेको बताए । फोरम लोकतान्त्रिक त्याग गरि पुरानै पार्टी फोरम नेपालमा प्रवेश गरेकी नेतृ एवम पूर्व कृषि राज्यमन्त्री करिना बेगमले आफुले पार्टी छोडी नया पार्टीमा प्रवेश गरि ठूलो भूल गरेको र भुल सच्याउन पुन: फोरम नेपालमै फर्केको बताईन ।
मधेशी युवा फोरम नेपालका केन्द्रिय अध्यक्ष योगेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतबाट राष्ट्रवादी युवा काग्रेसका केन्द्रिय महासचिव सैयद सिद्धिकी, उत्तर प्रदेश युवा काग्रेसका उपाध्यक्ष अभिषेक पाल, भारतीय जनता पार्टीका उत्तर प्रदेश युवा मोर्चा अध्यक्ष राज कुमार शाही, युवा संघ नेपालका केन्द्रिय सचिव बाबुराम थापा, नेपाल तरुण दलका चिरञ्जीवी जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल भरिबाट आएका करिब पाच सय प्रतिनिधि र पर्यवेक्षकले आगामी तीन बर्षे कार्यकालको लागी ४५ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गर्ने आयोजकले जनाएका छन ।