हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम शान्तिको प्रतिक
हेमराज भट्ट/नेपालगन्ज -इस्लामी संघका पुर्व केन्द्रिय अध्यक्ष नजरुल हसन फलाहीले अहिलेको अवस्थामा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको चरित्रबारे ज्ञानको कमीका कारण गलत शन्देश प्रवाह भईरहेको बताउनु भयो ।
इस्लामी संघ नेपाल भेरीले आज नेपालगंजमा आयोजना गरेको हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको प्रतिष्ठा सम्बन्धी एक दिने सम्मेलनलाई सम्बोधन गर्दै फलाहीले हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम शान्तिको प्रतिक हुनुका साथै समस्त मानव जातीको सम्मान गर्न सिकाउनु भएको दावी गर्नु भयो । धर्मगुरु सिकन्दर इस्लाहीले हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको चरित्रलाई मुसलमानहरुले व्यवहारिक प्रयोगमा नल्यासम्म अरु समुदायका व्यक्तिमा रहेको धर्मप्रतिको भ्रम नहटने बताउनु भयो ।
कार्यक्रममा अर्का धर्मगुरु मौलाना मोहम्मद जमील अहमद सिद्दीकीले संसारको सवै धर्मका मानिस एउटै मूल व्यक्ति आदमको परिवारको सदस्य भएकाले असहाय व्यक्तिको मद्दत गर्नु मानवताको परिचय भएको बताउदै ईशदूतले धर्मको प्रचार डर र धाकधम्कीले नभई कुशल चरित्र देखाएका कारण भएको बताउनु भयो । ईस्लाम विरुद्ध शत्रुता राख्ने कुतत्वहरुले गम्भीर तथा हृदयविदारक रुपले अल्लाहका अन्तिम दूत हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको बारेमा आपत्तिजनक हर्कत गरिरहेकोले निजको चरित्र माथि प्रकाश पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले शान्ति र सदभावका लागि पुरयाउनु भएको योगदानको चर्चा गरिएको थियो । मानव भलाईका प्रतिमुति, उद्धारकर्ता तथा करुणादायी हजरत मोहम्मद सल्ल. को प्रष्तिठा आम जनसमुदाय समक्ष पुरयाउनका लागि आयोजना गरिएको कार्यक्रममा हजारौं महिला पुरुषको सहभागिता रहेको थियो । कार्यक्रम इस्लामी संघ भेरीका अध्यक्ष उवैदर्रहमान खााको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य आयोजक संस्थाका सदस्य मोईनुद्दीन अंसारी र संचालन जमील अहमदले गर्नु भएको थियो ।