जनता आवास कार्यक्रमको माग गर्दै र्याली प्रदर्शन
बर्दिया, माघ १९- जनता आवास कार्यक्रमको माग गर्दै बर्दियाको सदरमुकाम गुलरियामा आज र्याली प्रदर्शन गरिएको छ । नेपाल सरकारले विगत तीन वर्षदेखि सिराहा, सप्तरी र कपिलवस्तु जिल्लामा सन्चालन भइरहेको जनता आबास कार्यक्रम बर्दिया जिल्लामा पनि लागू गरिनुपर्ने माग गर्दै सुकुम्बासी, मुक्तकमैया र सिमान्त गरिब जनताले गुलरियामा र्याली प्रदर्शन गरेका हुन् ।
राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको आयोजनामा निकालिएको जनता आवास माग र्यालीले एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपामाओवादीलगायतका १० ओटा पार्टीका कार्यालयहरुमा पुगी ज्ञापनपत्र पेश छन् । कार्यक्रममा सहभागी जनताले गरिबहरुको पक्की घर हुनुपर्ने, गरिबको घर नबनाउने पार्टीलाई भोट नदिने र थारु, मधेसी, पहाडी गरिब एकता जिन्दावाद जस्ता विभिन्न नाराहरुलगाएका थिए । गरिब जनतालाई गास, बास, कपास, स्वास्थ्य र शिक्षाको अधिकार स्थापित गराउन सरकार र राजनीतिक दलहरुलाई दवाब दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ज्ञापनपत्रमा जसरी पनि बर्दियामा जनता आवास कार्यक्रम लागु गरिनु पर्ने माग गरिएको छ ।