बाँकेमा नेपाली कांग्रेसले सरकारका विरुद्धमा आन्दोलन थाल्ने
ज्ञानु गौतम,बाँके,माघ ८ - नेपाली कांग्रेस बाँकेले सरकारका विरुद्धमा आन्दोलन थाल्ने भएको छ । पार्टीको केन्द्रिय निर्णय अनसार आज विहान वसेको जिल्ला कार्यसमितिको वैठकले यही माघ १० गतेदेखि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
जिल्ला सभापति डा. अरुण कोइरालाको सभापतित्वमा आज बसेको वैठकले यही १० गते भ्रातृ संगठनहरुको अगुवाईमा विरोध ऱ्याली गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको नेतृत्वमा जिल्लामा क्रियाशील सबै विपक्षी दलहरुसहित विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ । १६ गते पार्टीको अगुवाईमा विरोध ऱ्याली गर्ने र २१ गते सर्वदलीय आमसभा गर्ने निर्णय भएको कांग्रेस बाँकेले जनाएको छ । वैठकमा पार्टी उपसभापति लाहुराम चौधरी, तरुण दलका अध्यक्ष विरेन्द्र शाह, नेपाल विद्यार्थी संघका अध्यक्ष प्रकाश सिग्देल, शिक्षक संघका विरेन्द्र यादव, महिला संघकी अध्यक्ष किरण कोइराला, नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष पदम जिसी, मस्लिम संघका अध्यक्ष सहादत अली दर्जी, किसान संघका अध्यक्ष भानुभक्त भट्टराई लगायतको सहभागिता रहेको कांग्रेस बााकेले जनाएको छ ।