हेडसरले धोइदिन्छन् विद्यार्थीको हातखुट्टा
चितवन, पुस २७ - प्रधानाध्यापक (हेडसर) को मुख्य जिम्मेवारी विद्यालय प्रशासन सम्हाल्ने र पढाउने पनि हो। दारेचोक गाविस-७ कमेरेमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयका हेडसर ऋषिराम अधिकारी यी काममात्र गर्दैनन्, विद्यार्थीको लामो कपाल काट्ने र हातखुट्टा धोइदिनसमेत भ्याउँछन्।विद्यालयमा कक्षा पाँचसम्म पढ्ने ६६ विद्यार्थी छन्। आधा विद्यार्थी चेपाङ समुदायका छन्। टाढा-टाढाबाट केटाकेटी आउँछन्।
'चेपाङ हुन् कि बाहुनक्षेत्री, यो स्कुलमा पढ्न आउने सबैको आर्थिक अवस्था उस्तै छ। अलि पैसा हुनेले राजमार्गमा रहेको बोर्डिङ स्कुलमा केटाकेटी पठाउँछन्,' हेडसर अधिकारीले भने। मजदुरीमा जाने बाबुआमाले छोराछोरीको सफाइमा ध्यान नदिएको उनले बताए।
कक्षा दुईमा पढ्ने सरोज पोखरेललाई कपाल काटेर आउन हेडसर अधिकारीले पटक-पटक भने। तर उनले कपाल काटेनन्। पछि हेडसर अधिकारीले आफैंले काटिदिए। हेडसरको कपाल कटाइ कुनै हजामको भन्दा कम थिएन। कार्यालयमा कैंची र काइयो राख्छन् उनी।'पोखरेलकी आमा छैनन्। बाबु पनि सँधै काममा हिँड्ने। त्यसैले यसलाई सफासुग्घर बस्न कस्ले सिकाउने! यस्तालाई हामीले सहयोग गर्नुपर्यो नि,' हेडसर अधिकारी भन्छन्।
कमेरेमा आउनुअघि त्योभन्दा माथि पहाडी क्षेत्रमा रहेको चौतारा गाउँको स्कुलमा पढाउँथे उनी। त्यही स्कुलमा पढाउने बेला उनले कपाल काट्न सिकेका हुन्।
विद्यार्थीको लामो कपाल काट्नमात्र होइन शिशु कक्षामा पढ्ने विद्यार्थीको हातखुट्टा धुन पनि उनी अघि सर्छन्। शिशु कक्षामा १२ जना छन्। उनीहरु प्रायः मैलो भएर आउँछन्। अधिकारीले जाडोमा पानी तताएर विद्यार्थीका हातखुट्टा धोइदिन्छन्।
'माथिल्लो कक्षामा दाइदिदी पढ्ने छन् भने उनीहरुलाई बोलाएर भाइबैनीका हातखुट्टा धुन लगाउँछु। नहुनेका आफैं धोइदिन्छु,' अधिकारीले भने। नङ काट्ने काम पनि हुन्छ विद्यालयमा। शिक्षक-शिक्षिकाले विद्यार्थीलाई स्कुलबाट राम्रो बनाएर फर्काएपछि उनीहरुका बाबुआमाले पनि सफा बनाएर पठाउने अपेक्षा अधिकारीको छ।
स्रोत : नागरिक न्यूज

