नेपालकै बिध्यालयमा गौतम बुद्ध भारतमा जन्मेको भनी पढाइदै
काठमाडौं, ६ पुस नेपालकै विद्यालयमा गौतम बुद्ध भारतमा जन्मिएको र लुम्बिनी भारतमा पर्ने भन्दै पठनपाठन गराइएको खुलेको छ । गौतम बुद्ध भारतमा जन्मिएको र लुम्बिनी भारतमा पर्ने मिथ्या लेखिएको पाठ्यपुस्तक ललितपुरको धोबीघाटस्थित डिएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयमा अध्यापन गराइएको हो ।
सो विद्यालयको कक्षा ६ को 'इन्टि्रगेटेड सोसियल साइन्स' विषयको पाठ्यपुस्तकमा समाविष्ट 'ग्रोथ अफ न्यु आइडियाज' शीर्षक पाठमा गौतम बुद्ध भारतीय भएको मिथ्या कुरा लेखिएको छ । सो पुस्तकको पृष्ठ ४५ मा २५ सय वर्षअघि भारतमा दुई महान् हस्ती गौतम बुद्ध र महावीर जन्मिएको उल्लेख छ । पुस्तकमा लुम्बिनी भारतमा रहेको पनि
भनिएको छ ।
सोही विद्यालयमा कक्षा २ मा पठनपाठन भइरहेको 'माई बिग बुक सोसियल स्टडिज' विषयको पाठ्यपुस्तकमा पनि 'हामीहरूको महान् मुलुक भारत भएको, राष्ट्रिय झन्डा तिरंगा, राष्ट्रिय गान जन गन मन..., राष्ट्रिय जनावर बाघ' लगायतका कुरा उल्लेख छन् ।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीले भारतीय राष्ट्रियताको पाठ्यपुस्तक नेपालमा प्रयोग गर्नु आपत्तिजनक रहेको बताए । 'राष्ट्रियताविरोधी विद्यालयको स्वीकृति नै खारेज गर्नुपर्छ,' शुक्रबार सञ्चारकर्मीसँग उनले भने, 'यसले नेपाली बालबालिकालाई भ्रम सिर्जना गरेको छ ।'
लोहनीले भारतीय राष्ट्रियताका पाठ्यपुस्तक अध्यापन गराएर सो विद्यालयले नेपालीको स्वाभिमान र राष्ट्रियतामाथि सीधा धावा बोल्न खोजेको आरोपसमेत लगाए । उनले भने, 'पाठ्यपुस्तक स्वीकृति गर्ने निकायको लाचारीपन प्रस्ट देखिन्छ ।'
सो विद्यालयबाट हालै निष्कासनमा परेका शिक्षक सागर थापाले आफूहरूबाट उठाएको आयकर र सामाजिक सुरक्षा करलाई विद्यालयले आन्तरिक राजस्व कार्यालयमा हालसम्म नबुझाएको पनि खुलासा गरेका छन् । उनले नेपाल सरकारसित स्वीकृतिविना भारतको 'सिबिएसई' र 'आइसिएसई'बाट सम्बन्धन लिई सो विद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गरेको पनि जानकारी दिए ।
शिक्षा मन्त्रालयका सहायक प्रवक्ता रोजनाथ पाण्डेले केन्द्रीय विद्यालयबाहेक भारतीय सिबिएसई कोर्स पढाउने विद्यालय सबै अवैध रहेको बताए । कसैले उजुरी गरेमा भ्रम सिर्जना हुने पाठ्यक्रम पढाउने डिएभी सुशील केडिया विद्यालयलाई कारबाही गर्ने उनको भनाइ छ । त्यस्ता अवैध गतिविधि गर्ने विद्यालयलाई कारबाही गर्न सबै निकायको सक्रिय सहभागिताको आवश्यकता रहेको पनि उनले बताए ।- श्रोत नया पत्रिका