प्रधानाध्यापकद्धारा छात्रलाई रुखमा बाँधेर निर्घात कुटपिट
सप्तरी पुस ७ - विद्यालयमा बालबालिकालाई कुनै किसिमको यातना दिन नपाउने आवाज विभिन्न पक्षबाट उठिरहेका बेला सदरमुकाम राजविराजस्थित एक विद्यालयका प्रधानाध्यापकले विद्यालयभित्रै एक छात्रलाई रुखमा बाँधेर निर्घात कुटपिट गरेका छन् ।
विद्यालयले दिएको गृहकार्य सक्याएर नल्याएको भन्दै राजविराजस्थित प्राइम होलिक्स बोर्डिङ स्कुलका प्रधानाध्यापक सञ्जयकुमार शर्माले कक्षा ६ मा अध्ययन गर्ने १२ वषर्ीय सन्दिपकुमार मण्डललाई विद्यालय हाताभित्रै रहेको रुखमा बाँधेर निर्घात कुटपिट गरेको पीडितका परिवारजनले बताएका छन् ।
प्रअको कुटाइबाट सन्दिपको जिउभरि नीलडाम परेको छ । प्रधानाध्यापकलाई आफूले गृहकार्य बुझाउन नसकेको भन्दाभन्दै पनि आफूलाई रुखमा हातखुट्टा बाँधेर कुटपिट गरेको पीडित बालकले बताएका छन् ।
आफ्ना छोरालाई चिसो मौसममा रुखमा बाँधेर निर्धात कुटपिट गर्ने प्रधानाध्यापक शर्मामाथि कारबाही गर्न सप्तरीको नर्घाे गाविस घर भई राजविराजमा डेरा गरी बस्ने हरि मण्डलले माग गर्नुभएको छ । स्थानीय शान्ति समिति सप्तरीका संयोजक मण्डलले बालबालिकालाई विद्यालयमा कुनै किसिमको यातना दिन नहुने व्यवस्था विपरीत आफ्ना छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्ने शिक्षकमाथि कारबाहीको माग गर्नुभयो । रासस(स्रोत : ऑनलाइन खबर )
