त्रिशुली नदिमा खस्दा ट्रक सहित २ जना बेपत्ता
धादिङ, पुस १० – काठमाडौंबाट भारततर्फ जाँदै गरेको एक भारतीय नम्वर प्लेटको ट्रक त्रिशुली नदिमा खस्दा ट्रक सहित २ जना हराईरहेका छन् । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाविस वडा नम्वर १ कालिकास्थान नजिकैबाट सोमबार राती १० वजे तिर त्रिशुली नदीमा खसेर भएको दुर्घटनामा ट्रकमा सवार ३ जना मध्ये २ जना नदीमा हराएका हुन् ।
गजुरी गाविस १ कालिकास्थानबाट ब्रेक फेल भएर एन पि ०२ के ४३३८ नम्बरको टेलर गाडी सडकबाट एक सय मिटर तल त्रिशुली नदीमा परेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक विनोद घिमिरेले बताउनुभयो ।ट्रकका चालक भारत कलकत्ता भेदीपुरका आनन्दकुमार यादव घाइते भएका छन् । गम्भीर घाइते यादवको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाडीमा सवार भरतिय नागरिक शंकर यादव र गाडीका सहचालक नदीमा परेर हराइरहेका छन् ।नदीमा परेको गाडीको केहीभाग मात्र देखिएको छ । नदीको पानी अत्याधिक चिसो भएकोले नदीमा हराइरहेका व्यक्तिको खोजीका लागि समस्या भएको छ ।
यस्तै गएराती पृथ्वीराजमार्गको बेनीघाट गाविस स्थित विशालटार नजिकै ३ वटा सवारी साधन एक आपसमा ठोकिदा ३ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट गाईघाट जाँदै गरेको ना.४.ख ४२७१ नम्वरको बस, मुग्लीनबाट काठमाडौंतर्फ जाँदै गरेको ना.२.ख ७११० नम्वरको मिनिट्रकले ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको ना.३.ख ५६९४ नम्वरको ट्रकलाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् ।
घाइते सबैको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
स्रोत : उज्यालो नेटवर्क