|

प्रहरी पहरामै कैदीको यौनलीला

काठमाडौं, मंसिर २२ - केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका अमर टन्डनले भित्रैबाट आपराधिक समूह सञ्चालन गरेको खुलासा भएको दोस्रो दिन सोही कारागारका डकैती मुद्दाका एक कैदी गेस्ट हाउसमा प्रहरी पहरा दिएर युवतीसँग रंगेहात फेला परेका छन्। उपचारका लागि अस्पताल लैजाने बहानामा प्रहरीले कैदी सुनिल तामाङलाई बागबजारस्थित लोटस गेस्ट हाउस पुर्याएका थिए। प्रहरीले नै तामाङलाई रासलीलाका लागि गेस्ट हाउस लगेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएपछि उनको सुरक्षामा कारागारमा खटिएका तीन प्रहरी बिहीबारै निलम्बित भएका छन्।

कारागारको आन्तरिक प्रशासनमा भाइनाइके रहेका तामाङ डकैती मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन्। स्रोतका अनुसार बिहीबार कारागार सुरक्षामा खटिएका प्रहरीले तामाङलाई अस्पताल लैजान अनुमति मागेको थियो।
जेल प्रशासनको अनुमतिपछि हतियारसहितका प्रहरी हवल्दार रामअवतार यादव, सिपाही रमेश थापा र भुवन श्रेष्ठले तामाङलाई कारागारबाट बाहिर निकालेर वीर अस्पतालतिर लगे पनि अस्पताल नछिरी बागबजारको लोटस गेस्ट हाउस पुर्याएका थिए।

पूर्वयोजनामुताविक नै गेस्ट हाउस तामाङसहित गेस्ट हाउस पुगेको प्रहरी टोलीले उनको हातमा लगाइदिएको हतकडी खोलिदियो। तामाङ युवती लिएर कोठाभित्र छिरेपछि उनको सुरक्षामा खटिएका प्रहरी अर्को कोठामा बसेर तामाङकै मेजमानी खाइरहेका थिए।

स्रोतका अनुसार केन्द्रीय कारागारका सुरक्षाकर्मीको मिलेमतोमा तामाङ पटकपटक गेस्ट हाउस जाने गरेका थिए। तर, बिहीबार उनका लागि फापेन। हतियारसहित युनिफर्ममा भएका प्रहरी र हतकडी लगाएका व्यक्ति युवतीसहित गेस्ट हाउस छिरेको बटुवाले देखेर महानगरीय प्रहरी प्रभाग, सिंहदरबारमा जानकारी दिएका थिए।
सूचना आएलगत्तै सिंहदरबारका प्रहरी निरीक्षक श्याम महतोले महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारीलाई जानकारी गराएर प्रहरी टोलीसहित गेस्ट हाउसमा पुगेका थिए। स्रोतका अनुसार सिंहदरबारको टोली गेस्ट हाउसमा पुग्दा तामाङ कोठामा रासलीलामै व्यस्त थिए भने अन्य प्रहरी मेजमानीमा।

उनीहरुले पहिले तामाङको सुरक्षामा खटिएका प्रहरीलाई नियन्त्रणमा लिए र तामाङको कोठामा पुगेका थिए। कोठामा पुग्दा तामाङ युवतीसँग अर्धनग्न थिए।

सिंहदरबारको टोलीले पाँचैजनालाई कार्यालयमा ल्याएर राखेलगत्तै महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट 'कारागार आयुक्तमातहत रहेको' भन्दै उनीहरुलाई पठाउन आदेश आएपछि प्रहरी निरीक्षक महतोले आयुक्त कार्यालयबाट आएका एसपीलाई तामाङ र प्रहरी जिम्मा दिएका थिए।

आयुक्त कार्यालयमपुगेकी युवतीबारे सोधपुछ गर्दा तामाङले श्रीमती भएको दाबी गरेपछि प्रहरीले युवतीका आफन्तलाई बोलाउन लगाएका थिए। प्रहरी कार्यालय आएका युवतीका बाबुआमाले तामाङ आफ्ना ज्वाइँ भएको दाबी गरेपछि तामाङलाई कारागार पठाएर प्रहरीले युवतीलाई आफन्तको जिम्मा लगाएको थियो।

अस्पताल लैजाने भन्दै कैदीलाई गेस्ट हाउस लैजाने तीन प्रहरी भने निलम्बित भएका छन्। घटनाक्रमबाटै सुरक्षामा गम्भीर चुक गरेको देखिएपछि तीनैजनालाई निलम्बन गरेर अनुसन्धानअगाडि बढाएको आयुक्त कार्यालयका प्रवक्ता भोगबहादुर थापाले बताए।
 समाचार  नागरिक न्यूज  बाट

Posted by Butwalonline on 10:44 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रहरी पहरामै कैदीको यौनलीला"

Leave a reply