ल्याब परीक्षणले हुँदै नभएको रोग देखाए पछि
भैरहवा, पुस ६ - यहाँस्थित लुम्बिनी सडकस्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिको ल्याब परीक्षणले हुँदै नभएको रोग देखाएको छ । अस्पतालले केही दिनअघि नगरका विभिन्न स्थानमा गरेको निःशुल्क मधुमेह (सुगर) परीक्षण शिविरमा मधुमेहका बिरामी नभएका दर्जनौंलाई रक्त परीक्षण उक्त रोग भएको रिपोर्ट दिएपछि उनीहरू चिन्तित छन् ।'शरीरमा सुगरको मात्रा कति छ भनेर सामान्य जानकारी लिन शिविरमा परीक्षण गर्दा रोग भएको रिपोर्ट दिएपछि रातभरि निन्द्रा लागेन,' सिद्धार्थनगर ७ गार्गीपथकी सरस्वती दाहालले भनिन्, 'भोलिपल्ट उज्यालो हुनासाथ अर्को क्लिनिकमा परीक्षण गर्दा सुगरको बिरामी नभएको पुष्टि भएपछि बल्ल ढुक्क भएँ ।' यो पीडा भोग्ने उनीमात्र एक्लो होइन । सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा कार्यरत पुष्पा थापाको पनि यही अवस्था भयो । सिद्धार्थनगर नपा ७ वडा कार्यालयका सचिव सुरेश शर्मालाई पनि अर्को क्लिनिकबाट परीक्षण रिपोर्ट नआउन्जेल यस्तै छटपटीले बेचैन गरायो । सिद्धार्थनगर नपा ७ की विष्णु नाम गरेकी एक महिलाले आफूमा सुगर भएको देखाएपछि पत्यार नलागेर अन्यत्रसमेत परीक्षण नगराएको बताइन् । उक्त अस्पतालद्वारा विभिन्न ठाउँका शिविरमा सुगर परीक्षण गराएकामध्ये दर्जनौंले आफूमा हुँदै नभएको बिरामी भनेर रिपोर्ट दिएको गुनासो गरे । उनीहरूमध्ये केहीले शिविरको सुगर भएको रिपोर्ट र अर्को स्थानमा परीक्षण गर्दा नभएको दुवै रिपोर्ट उपलब्ध गराएका छन् ।
'शिविरमा सुगर भएको रिपोर्ट दिएपछि नभएको बिमारी पनि चिन्तै चिन्ताले होलाजस्तो भयो,' वडा सचिव शर्माले भने । अस्पतालले भने, आफ्नो निःशुल्क शिविरबाट लाभान्वित हुनेको संख्या अत्यधिक रहेको र कसैकसैको रिपोर्टमा सामान्य गल्ती भएको भए त्यसलाई नै आधार मानेर अस्पताललाई बदनाम गराउने षड्यन्त्र भएको दाबी गरेको छ ।
समाचार कांतिपुर बाट