|

लुम्बिनी एक्स्पो–२०६९ राजधानी बाहिरकै उत्कृष्ठ मेला हुने

बुटवल, पुस ४ - पुस ६ गतेदेखि बुटवल मण्डपमा शुरु हुने लुम्बिनी एक्स्पो–२०६९ राजधानी बाहिरकै उत्कृष्ठ मेला हुने आयोजकले दाबि गरेका छन् । राजधानी बहिर सबैभन्दा बढी स्टल सहभागी रहने मेला बिगतका मेलाभन्दा निकै पृथक हुने बताइएको छ ।

एक्स्पो–२०६९ तथा अन्र्तराष्ट्रिय व्यापार मेला आयोजक संस्था रुपन्देही व्यापार संघले बुधबार बुटवल मण्डपमा गरेको पत्रकार सम्मेलनमा मेला संयोजक टंक पोखरेलले राजधानी बाहिरकै नमूना मेला बनाउन लागि परिएको बताउनुभयो । ‘राजधानी बाहिर सबैभन्दा बढी स्टल सहभागी हुने भएका छन’, पत्रकार सम्मेलनमा संयोजक पोखरेलले भन्नुभयो –‘हामीलाई बिश्वास छ, यो राजधानी वाहिरको सबैभन्दा ठूलो र नमूना मेला बन्नेछ ।’ पूराना मेलाहरुको अनुभवलाई केलाउदै मेलालाई नयापन दिन लागिएको उहाले बताउनुभयो ।

व्यापार व्यवसायबारे जनचेतना जगाउदै उद्योगी, व्यवसायी र उपभोक्ताकाबीच सम्बन्ध बिस्तार गर्नका लागि मेला आयोजना गरिएको हो । मेलाबाट पर्यटनको सम्भावनाको प्रचारप्रचार, व्यवसायीबीच गुणात्मक प्रतिष्पर्धा, निजी व्यवसायीका समस्या, स्वरोजगारको प्रोत्साहन, बिदेशी व्यापारीसंगको अनुभाव साटासाट हुने लगायतका उद्देश्य मेलाबाट राखिएको छ ।

पुस ६ गतेदेखि १७ गतेसम्म राजधानी बाहिर पहिलो पटक बुटवलमा व्यापार संघले अन्र्तराष्ट्रिय व्यापार मेला गर्न लागेको हो । मेलामा अन्र्तराष्ट्रिय ३० स्टल सहित ६ सय ३७ स्टलहरु दर्ता भएका छन् । आयोजकले ५ सय स्टल सहभागि गराउने लक्ष्य राखेका थिए । स्टल राख्नेको माग भएपछि बाध्य भएर स्टल थप्नु परेको संयोजक पोखरेलले प्रष्टाउनुभयो ।

स्टल सहभागिताका लागि बिभिन्न बिधाको प्याभिलियन निर्माण गरिएका छन् । मेलामा चीनका १०, भारतका ८, बंगलादेशका ६ र पाकिस्तानका २ वटा स्टल सहभागि रहने बताइएको छ । आयोजकका अनुसार अटो पेभिलियन तर्फ ६६, कृषि प्रबिधिका ६०, सेवा मुलक ५८, सूचना प्रबिधि र इलेक्ट्रोनिक्स ५८, जुता चप्पल ५८, दैनिक उपभोग्य सामान ८८, गार्मेन्ट्स ९८, निर्माण सामाग्री ३०, घरेलु तथा हस्तकला ५८, होटल तथा रेष्टुरेन्टका ३३ स्टल मेलामा सहभागि हुनेछन् । मेलाका उत्कृष्ट स्टललाई पुरस्कृत गरिने बताइएको छ ।

मेलामा यि बस्तुका छुट्टाछुट्टै प्याभिलियन हुने छन् । यसले उपभोक्तालाई अवलोकन गर्न र किनमेल गर्न पनि सहज हुने बताइएको छ । बिगतमा भएका मेलाभन्दा फरक प्रकृतिको महसुस अवलोकन कर्ताले गर्ने आयोजकले जानकारी दिएका छन् ।

करिव १ करोडको खर्च गरेर गर्न लागिएको मेलामा २५ करोडको कारोबार हुने अपेक्षा गरिएको मेला संयोजक पोखरेलले जानकारी दिनुभयो । मेला ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा पनि आयोजकले गरेका छन् । मेलाको पूर्बसन्ध्यामा भोलि बुटवलमा जनचेतनामूलक र्‍यालि निकालिने आयोजकले बताएका छन् ।

Posted by Butwalonline on 8:12 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनी एक्स्पो–२०६९ राजधानी बाहिरकै उत्कृष्ठ मेला हुने"

Leave a reply