आज हरिवोधिनी एकादशी
सीता भण्डारी,गुल्मी,९ मंसीर-आज हरिवोधिनी एकादशी पर्व परम्परा अनुसार हिन्दु नेपालीहरुले धुमधामका साथ मनाईरहेकाछन् । असार शुक्ल एकादशीका दिन घरघरका मठ र मन्दिरहरुमा रोपिएका तुलसीको आज विधिवत विवाह गरिदिने परम्परा छ । आजको दिन भक्तिपुर्वक विष्णु भगवानको उपासना, पुजा आरोधना र जपतप गरी व्रम्हणलाई दान दिने चलन छ । त्यस्तै हिन्दुहरुमा आज चामलको भात खान नहुने मान्यता छ । त्यसैले उनीहरु वदाम, सखरखण्ड र पिडालु जस्ता जमिन मुनि फल्ने खानेकुरा र फलफुल तथा दुध दही खाने गर्दछन् । आज देशभरका विष्णु मन्दिरहरुमा श्रृद्धालु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । चलनचल्तीको भाषमा हरिवोधिनी एकादशीलाई ठुलो एकादशी पनि भन्ने गरिन्छ ।
यसैवीच हरिवोधनी एकादशिको अवसरमा गुल्मीको ऐतिहाँसीक तथा धार्मिक स्थल रेसुङ्गा क्षेत्र र रुरु क्षेत्रमा आज विहानै देखि दिनभर श्रृद्धालु भक्तजनहरुको निक्कै घुँईचो लाग्ने गर्दछ । रेसुङ्गाको पोखरीमा रहेको पानीले स्नान गरेपछि जीवनमा गरेका संपृुर्ण पापहरु नष्ट हुने धार्मिक विश्वास रहेको छ । ठुलो एकादशीको रुपमा समेत चिनिने यस एकादशीलाई विशेष महत्वको रुपमा लिने गरिन्छ । रेसुङ्गा पोखरीमा स्नान गर्नका लागि गुल्मी लगायत पाल्पा, वाग्लुङ्ग, अर्घाखाँची, प्यूठान लगायत धेरै टाढा टाढावाट पनि श्रृद्धालु भक्तजनहरु आउने गर्दछन् । यस्तै गुल्मीको रिडी रुद्रवेणीमा पनि दिनभर स्नान तथा पुजापाठ गर्ने श्रद्धालु भत्तजनहरुको घुईचो लाग्ने गर्दछ । त्यस्तै आज नै यस वर्षको भैली कार्यक्रमको अन्त्य गर्ने पनि गरिन्छ ।
