|

देशको आर्थिक समृद्धिको लागि सहकारीको बिकास अपरिहार्य

लक्ष्मण पोखरेल,बुटवल, ४ मंसिर । देशको आर्थिक समृद्धिको लागि सहकारीको बिकास अपरिहार्य   रहेको सहकारी आन्दोलनका अगुवाहरुले बताएका छन् । बिश्वका बिकसित मूलुकहरु सहकारीकै माध्यमबाट समृद्ध भए पनि नेपालमा सहकारीको राम्रो कसरत हुन नसकेको उनीहरुले औल्याए ।

राज्यले सरहकारीलाई हेर्ने दृष्टिकोण तथा सहकारी ऐनको उचीत व्यवस्था नहुदा नेपालमा स्थापना भएका सहकारीले राम्रो प्रगतिगर्न नसकेको अगुवाहरुको भनाई छ । नेपालको सहकारी आन्दोलनका अगुवा तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले आर्थिक बिकासको लागि नेपालको १ करोड जनसंख्या सहकारीमा आबद्ध हुनुपर्ने बताए । रुपन्देहीको देवदह स्थित कोलिया बचत तथा ऋण सहकारी संस्थाको सोमबार सम्पन्न छैठौ साधारणसभामा बोल्दै उनले सहकारीले नै देशलाई  आर्थिक रुपमा चलायमान गराउनु पर्ने बताए ।

सहकारीलाई निजी क्षेत्रले आफ्नो बिरोधी संस्था मानेको बताउदै उनले बिरोधी नभई सहकारी समन्वयात्मक संस्था भएको उनको दावि थियो । निजी क्षेत्रले पनि सहकारीको बिकासका लागि सहयोग गर्नु पर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारी नीति बिभेदकारी भएकाले त्यसलाई सच्याउनु पर्ने माग गरे । ग्रामिण क्षेत्रका सहकारी र शहरी क्षेत्रका सहकारीमा कर तिर्ने बिषयमा बिभेद भएकाले कर लिन नै बन्द गर्नु पर्ने बताए । राज्यले ग्रामिण क्षेत्रमा कर लिदैन भने महानगर, नगरपालिका क्षेत्रबाट २० प्रतिशत सम्म कर लिदै आएको छ ।

रुपन्देहीका सहकारीहरु दर्ता भएर पनि क्रियाशिल नभएको अध्यक्ष तुलाचनको भनाई थियो । सहकारीलाई सक्षम बनाउन कर्मचारी तथा व्यवस्थाकहरुलाई तालिम दिनुपर्ने उनले औल्याए । त्यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला सचिव कृष्ण नेपालले सहकारी ऐनमा ग्रहण लाग्न लागेको बताए । सहकारीबाट असुलिएको कर सहकारीको बिकासमा नै लगाउनु पर्ने उनले बताए ।  सहकारीको बिकासका लागि सबैभन्दा पहिले स्पष्ट ऐन ल्याउनुपर्ने उनको भनाई थियो ।

संस्थाका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, देवदह बचत सहकारीका कृष्ण पौडेल, डण्डपाणी भट्टराई, यम राना, बोधराज पौडेल, संस्थाका उपाध्यक्ष प्रकाश अर्याल, सचिव कृष्णराज पौडेललगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाले जेष्ठ सदस्य, संस्थापक अध्यक्ष तथा एसएलसीमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई समेत सम्मान गरेको थियो । साधारण सभाले प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पारित गरेको छ ।

Posted by Butwalonline on 5:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "देशको आर्थिक समृद्धिको लागि सहकारीको बिकास अपरिहार्य"

Leave a reply