दुई तिब्बती नागरिकको साथबाट एमआरपी बरामद
काठमाडौं, कार्तिक २८ - दुई तिब्बती नागरिकको साथबाट मेसिन रिडेबल पासपोर्ट एमआरपी बरामद भएको छ । राजधानीबाट थाई एयरवेजको विमानद्वारा थाइल्यान्डको बैंकक जान लागेका तिब्बती नागरिकबाट एमआरपी बरामद भएको हो ।
सुरक्षा जाँच गर्ने क्रममा नेपाल प्रहरीका कर्मचारीले सोधपुछ गर्दा नेपाली बोल्न नजानेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । सिन्धुपाल्चोकबाट नागरिकता लिएर राहदानी बनाउने तिब्बती नागरिक लोब्साङ जमाङ र केशालग रिन्जिन हुन् । एमआरपीको प्रचलनमा आउनुअघि हस्त लिखित कूटनीतिक र अन्य राहदानीको दुरुपयोगले सीमा नाघेको थियो । त्यही ताका एमआरपी (मेसिन रिडेबल पासपोर्ट) आएपछि धेरैले त्यस्तो दुरुपयोग नहुने अपेक्षा गरेका थिए ।
तर एमआरपी समेत झूटो विवरण पेस गरेर बनाउने गरेको पाइएको छ । दुई तिब्बती नागरिकबाट नक्कली नागरिकता पेस गरेर बनाएको एमआरपी बरामद भएपछि यसको खुलासा भएको हो ।
लोब्साङको साथबाट ०६११२७२९ र रिन्जिनको ०६११२७२९ नम्बरको राहदानी बरामद भएको छ । काठमाडौं प्रहरीको जिम्मा लगाएपछि उनीहरूको नागरिकता जाँच गरिएको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई नागरिकताका बारेमा सोधपुछ गर्दा त्यहाँबाट जारी नभएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी धिरजप्रताप सिंहले बताए ।
सिंहका अनुसार उनीहरूले एमआरपी बनाउनका लागि नक्कली नागरिकता बनाएका थिए । 'नेपाली बोल्न जान्दैनन्, उनीहरूलाई नेपाली राहदानी बनाउन सघाउने कुनै गिरोह छ,' सिंहले भने, 'थप अनुसन्धान भइरहेको छ ।'
जल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट १००१३५ नम्बरमा लोब्साङ र रिन्जिनको १००१३९ नम्बरको नागरिकता पेस गरेका थिए । तर जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उनीहरूको नाममा कुनै नागरिकता जारी नभएको बताएको छ ।
यसले एमआरपी बनाउन पेस गरिने गरेका कागजपत्र सक्कली या नक्कली हुन्, जाँच गर्नुपर्ने स्थिति आएको प्रहरी अधिकारीहरू बताउँछन् । 'पहिला राहदानीमा फोटो परिवर्तन गर्ने गरिन्थ्यो' एक प्रहरीले भने, 'अहिले नागरिकता नै नक्कली बनाएर सक्कली एमआरपी बनाउने गरेको पाइयो ।' त्यसमा विदेशी नागरिकले एमआरपी पाउनु झन् खतरानाक रहेको प्रहरी अधिकारीको भनाइ छ । 'त्यो राहदानीमा जुनसुकै देश गएर जस्तोसुकै काम गरे भने नाम नेपालको जोडिन्छ,' ती अधिकृतले भने । नागरिकता सक्कल वा नक्कली हो प्रमाणित गर्न प्रविधि चाहिने प्रहरीको भनाइ छ ।
स्रोत : कांतिपुर