एमाओवादी मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत
काठमाडौ, कार्तिक २५ - विपक्षीहरूले आन्दोलनबाट सरकार हटाउने चेतावनी दिइरहेका बेला एमाओवादी ले बजेट पेस गर्नुअघि सरकारबारे नयाँ प्रस्ताव अघि बढाउने तयारी गरेको छ । मन्त्रिपरिषद् पुनर्गठन गरेर सहमतिको सरकार बनाउने भन्दै प्रस्ताव ल्याउने तयारी गरेको उसले जनाएको छ ।
राष्ट्रपति रामवरण यादवले शुक्रबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बजेटमा सहमति जुटाउन सुझाएपछि नयाँ प्रस्ताव अघि बढाउने भएको हो । हाल सरकारको नेतृत्व परिवर्तन नगरी मन्त्रिपरिषद् पुनर्गगठन गरी कांग्रेस, एमालेलाई सहमतिको सरकारका लागि आग्रह गर्ने भएको छ । बजेटलाई लक्षित गरी सरकारको नेतृत्व गरेको हैसियतले यस्तो प्रस्ताव अघि सार्न लागेको प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए । 'विपक्षीले सरकारको कुरा उठाइरहेकै बेला लचिलो भएर छलफल अघि बढाइनेछ,' उनले कान्तिपुरसँग भने, 'त्यसबारेमा पार्टीको तर्फबाट पहल हुन्छ ।' विपक्षीलाई प्रधानमन्त्रीबाहेक रोजेर मन्त्रालय लिएर बजेटबाट सहमतिको सुरुवात गर्ने एमाओवादी ले जनाएको छ । सहमति नभए बजेट ल्याउन नदिने चेतावनी दिइरहेका बेला सहमतिमा कात्तिक मसान्तभित्र बजेट ल्याउन एमाओवादी ले सहमतिको सरकारका लागि समयसीमा तोक्ने सम्भावना रहेको छ । उसले त्यसलाई 'लचकता' भनेको छ । 'बजेटमा सहमति जुटाउन विभिन्न विकल्प अघि सारिनेछ,' उनले भने, 'कात्तिक मसान्तभित्र बजेट ल्याउने गरी सहमति प्रयास जारी रहनेछ ।'
राष्ट्रपतिसँगको भेटपछि दाहालले सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले आफूलाई सहमति जुटाउन गरेको बताए । 'सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले राष्ट्रपतिले बजेटमा सहमति जुटाउन आग्रह गर्नुभयो,' उनले भने, 'बजेटमा सहमति भयो भने आफूलाई सजिलो हुने राष्ट्रपतिले बताउनुभयो ।' उनले निर्वाचनमा जाने र सरकारका विषयमा पनि विपक्षीहरूसँग कुराकानी गर्ने उनको भनाइ थियो ।
दाहालले बिहीबार कांग्रेस सभापति सुशील कोइरालासंग 'गाँठो' फुकाउने सकारात्मक कुराकानी भएको बताए । 'बाहिर पार्टीको पोजिसन बोल्नुभयो होला' उनको भनाइ थियो, 'हिंजो -बिहीबार) गाँठो फुकाउन मदत गर्छ भन्ने लागेको छ ।' तर उनले सहमति नभए पनि बजेट अघि बढ्ने टिप्पणी गरे । बजेटमा सहमति नभए मुलुक जटिल दिशामा जाने खतरा भएको भन्दै राजनीतिक सहमतिका विषयमा शनिबारदेखि छलफल सुरु गर्ने बताए । 'सहमतिका लागि आइतबारदेखि छलफल हुन्छ,' दाहालले भने ।
राष्ट्रपति र दाहालबीच बजेटबारे सहमति जुटाउन सम्बन्धित विशेषज्ञसँग परामर्श गर्ने कुरा भएको एमाओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 'आधारभूमत रूपमा बजेटबारे विशेषज्ञसँग छलफल गर्ने कुरा भएछ,' उनले भने, 'अध्यक्षलाई अरू पार्टीसँग सहमति गर्न विशेष आग्रह गर्नुभएको रहेछ ।' यो साता राष्ट्रपति र दाहालबीच शुक्रबारसहित दुईपटक कुराकानी भइसकेको छ । बजेटबारे राष्ट्रपति र प्रधानमन्त्रीबीच बिहीबार करिब एक घन्टा छलफल भएको थियो । उनलाई राष्ट्रपतिले सहमतिमै बजेट ल्याउन आग्रह दोर्याएका थिए । सरकारले भने कात्तिकभित्र बजेट ल्याउने गरी तयारी भइरहेको प्रधानमन्त्रीका सल्लाहकार पौडेलले भने । 'बजेट करिब तयार भइसकेको छ' उनले भने, 'सहमतिमै बजेट ल्याउने अन्तिम प्रयास हुँदैछ । केही न केही विकल्प निकाल्नुपर्छ भन्नेमा सरकार गम्भीर छ ।'
स्रोत :कांतिपुर
