चितवनको खैरहनीमा आफै चढेको बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु
चितवन,कात्तिक ३ - दशैंका बेला भिडमा यात्रा गरिरहेका बेला आफै चढेको बसको ढोकाबाट खसेर चितवनको खैरहनीमा आज अन्दाजी ५५ वर्षकी एक महिलाको मृत्यु भएको छ। बसको ढोकाबाट खसेर गम्भीर घाइते भएकी अन्दाजी ५५ वर्षीया महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनको नाम ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।नारायणगढबाट बीरगञ्ज जाँदै गरेको ना ३ ख ३२०४ नम्बरको यात्रुबसको ढोकैनिर उभिएकी ती महिला गुडिरहेको बसको ढोकाबाट सडकमा खसेर गम्भिर घाइते भएकी थिइन्।
दुर्घटनापछि चालक र यात्रु बस प्रहरीको नियन्त्रणमा रहेको छ। दशैंका बेला सवारी साधनमा बढ्दो यात्रुको चापका कारण सडक दुर्घटना निम्तने क्रम बढेको छ।
उता मकवानपुरको मनहरीमा बस र ट्रक आपसमा ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा मृत्यु हुनेमा सुनसरी इनरुवा ८ का बसन्त मेहता तथा सङ्खुवासभा खादँबारीका किशोर कट्टेल रहेको मकवानपुर प्रहरीले जनाएको छ।
बिहीबार राती भएको सो दुर्घटनामा अन्य २२ बढी यात्रु घाइते भएका छन्।काठमाडौँबाट पूर्व जाँदै गरेको ना २ ख ९० नम्मरको रात्रिबस र बीरगंजबाट काठमाण्डौ जान आउँदै गरेको ना ४ ख १२३३ नम्मरको ट्रक मनहरी ७ स्थित जयसीङ सडकमा ठोक्किएका थिए। घाइतेहरुको चितवन स्थित मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। यात्रुहरु दशैं मनाउन काठमाण्डौबाट आफ्नो घर फर्कँदै थिए।
स्रोत :नागरिक न्यूज