अति भएपछि हिंसा सहन नसकी पतिको हत्या
बाँके, आश्विन २३ - वर्षौंदेखि घरेलु हिंसा सहँदै आएकी कचनापुर ६ हरिहरपुरकी २७ वर्षीया सुशीला रानाक्षेत्रीले कानुनी उपचार खोज्नुको साटो पति झलकको हत्या गरेकी छन् । मदिराले मातेर दैनिकजसो कुट्ने गर्दा शनिबार राति रिसको झोंकमा बन्चरो हानेर हत्या गरेको उनले प्रहरीमा बयान दिएकी छन् । निदाएको बेला श्रीमान्को घाँटीमा बन्चरो प्रहार गरी सुशीलाले हत्या गरेको प्रहरीले जनायो । घरेलु हिंसामा परेकी उनले पहिले नै कानुनी बाटो रोजेको भए यस्तो नहुने सुरक्षा अधिकारीले बताए । 'वर्षौंसम्म सहेर बसेकी उनले अति भएपछि हत्या गरेको बयान दिइन्,' इलाका प्रहरी कोहलपुरका नायब उपरीक्षक रमेश बस्नेतले भने, 'घरेलु हिंसाले हत्या जस्तो जघन्य अपराध भयो ।' घरेलु हिंसाका घटना घरभित्रै लुकाउने/दबाउने प्रवृत्तिले पति वा पत्नीको ज्यान जाने गरेको उक्त घटनाले देखाएको छ । गतवर्ष पनि पतिको कुटाइले कोहलपुर ८ पिपरीकी २६ वषर्ीया सृजना गिरीको मृत्यु भएको थियो । घरेलु हिंसाबारे समयमा उजुरी गर्ने हो भने यस्ता घटनामा कमी आउने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । 'तर अझै पनि हिंसाका घटना समुदायमा लुकाउने प्रचलन छ,' उनले भने ।
पतिको हत्या अभियोगमा पक्राउ परेकी सुशीलाको शरीरमा कुटपिटको नीलडाम रहेको उनले बताए । 'यसले उनी हिंसामा परेको देखिन्छ । तर कानुनले भने अपराध गर्नेलाई उन्मुक्ति दिन मिल्दैन,' बस्नेतले भने । राना दम्पतीका एक छोरा र दुई छोरी छन् । कान्छी पत्नी वैदेशिक रोजगारीमा विदेश गएकी छन् । 'सौता ल्याएपछि पतिले हरेक दिन कुट्न थाल्यो । जति सहे पनि
सुधि्रएन । रक्सी खाएर सधैं कुटेपछि बन्चरोले हानेकी हुँ,' सुशीलाले प्रारम्भिक बयान दिएकी छन् । महिलामाथि हुने विभिन्न हिंसा नियन्त्रण गर्न सरकारले कडा कानुन ल्याए पनि यस्ता घटना बाँकेमा दैनिकजसो घट्ने गरेका छन् । महिला विकास कार्यालय, महिला प्रहरी सेल र त्यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थामा दैनिक उजुरी आउने गरेका छन् । 'घरेलु हिंसाका घटना दैनिकजसो घटिरहेका छन्,' महिला तथा बालबालिका कार्यालय, बाँकेकी प्रमुख शोभा शाहले भनिन्, 'तर हिंसा लुकाउने प्रवृत्ति पनि उस्तै छ ।'
दाइजो, मदिरापान, बहुविवाह लगायतले महिलामाथि शारीरिक, सामाजिक, भावनात्मक, आर्थिक हिंसा हुने गरेको छ । त्यसैगरी महिलाले श्रीमान्बाट हुने हिंसालाई दबाउने, लुकाउने गरेका कारणले पनि हिंसा बढिरहेको उनले बताइन् । 'हाम्रो समाजमा महिलाले घरभित्रको समस्या हो भनेर हिंसा लुकाउने चलन छ । हिंसा बढ्नुको कारणमध्ये यो पनि हो,' शाहको भनाइ छ । घरेलु हिंसाबाट पीडित व्यक्तिलाई न्याय दिलाउन गाविस, नगरपालिका, महिला आयोग, नजिकैको प्रहरी चौकी र सीधै अदालतमा उजुरी दिने ऐनले व्यवस्था गरेको छ । गाविसमा भने यस्ता मुद्दा पर्दैनन् । पीडित व्यक्ति र गाविस सचिवहरूलाई यो ऐनबारे जानकारी नभएका कारणले उजुरी नपरेका हुन् । सरकारले प्रत्येक व्यक्तिको सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउने अधिकारको सम्मान गर्दै घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐन ल्याएको हो । घरेलु सम्बन्ध भएको परिवारका सदस्यलाई शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना, गाली गर्ने तथा भावनात्मक चोट पुर्याउनेलाई घरेलु हिंसाका रूपमा परिभाषित गरिएको छ ।
स्रोत :कांतिपुर
